धनगढी उपमहानगरले किन्यो ६ वटा विद्युतीय माइक्रोबस

काठमडौं । धनगढी उपमहानगरपालिकाले ६ वटा विद्युतीय सवारी (माइक्रोबस) खरिद गरेको छ ।

उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम अनुसार ग्रामीण क्षेत्रका वडालाई सहरी क्षेत्रसँग जोड्ने उद्देश्यले विद्युतीय गाडी खरिद गरिएको हो ।

खरिद गरिएका नयाँ गाडी कार्यालयमा आइपुगेको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिए । यी ६ वटा गाडी तीन वटा रुटमा संचालन गर्ने प्रस्ताव गरिएको छ ।

उनका अनुसार विद्युतीय माइक्रोबस वनवेहडा–देवरिया–धनगढी, चौमाला–कनरी–धनगढी र जुगेडाबाट वडा नं. १०, ९ र ८ हुँदै धनगढीसम्म संचालन गरिने छ ।

उपमहानगरपालिकाका अनुसार विद्युतीय गाडी सञ्चालनले ग्रामीण क्षेत्रको सार्वजनिक यातायातलाई थप व्यवस्थित र प्रभावकारी बनाउने छ । साथै, स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको शैक्षिक पहुँच र रोजगारीका अवसरसँग ग्रामीण क्षेत्रका नागरिकको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Back_to_top