५ मिटरभन्दा लामो प्रिमियम एसयूभी ल्याउँदै लिपमोटर, दुई पावरट्रेनमा आउने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल स्टार्टअप ५ मिटरभन्दा लामो नयाँ फुलसाइज एसयूभी ल्याउने भएको छ । कम्पनीले आफ्नो प्रिमियम डी सिरिज अन्तर्गत नयाँ एसयूभी ‘डीएक्स’ बजारमा ल्याउने भएको हो ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको नयाँ एसयूभी डीएक्सको डिजाइन, आकार र पावरट्रेन बारे जानकारी बाहिरिएको छ ।

लिपमोटर डीएक्स कम्पनीकै डी१९ एसयूभीभन्दा केही सानो आकारको हुनेछ । ५ सिट क्षमताको यो एसयूभी प्योर इलेक्ट्रीक र एक्सटेन्ड रेन्ज (ईआरईभी) दुवै पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ ।

यसको ईआरईभी संस्करणमा १.५ लिटरको पेट्रोल इन्जिन रेन्ज एक्सटेन्डरका रूपमा रहने छ । जसले ९५ किलोवाट पावर उत्पादन गर्छ । यसमा अगाडि १०० किलोवाट र पछाडि २०० किलोवाटको मोटर रहेको छ ।

त्यस्तै, प्योर इलेक्ट्रीक संस्करणमा डुअल मोटर र ट्रिपल मोटर गरी दुई विकल्प हुनेछन् । डुअल मोटर संस्करणमा अगाडि १८० किलोवाट र पछाडि २३० किलोवाटको मोटर रहने छ । अझ बढी शक्तिशाली एसयूभी खोज्नेलाई ल्याइने ट्रिपल मोटर संस्करणमा १८० किलोवाटका ३ वटा मोटर रहने छन् । तीनवटै मोटरले समान २४१ हर्सपावर शक्ति प्रदान गर्छन् ।

लिपमोटरले डी सिरिजका गाडीमा सीएटीएलले उत्पादन गरेका लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री सेल प्रयोग गर्छ । ब्याट्री प्याक भने लिपमोटर आफैंले एसेम्बल गर्दै आएको छ । नयाँ एसयूभीमा कति किलोवाट आवरको ब्याट्री रहन्छ भन्ने खुलाइएको छैन ।

लिपमोटर डीएक्समा कम्पनीको पछिल्लो डिजाइन ल्याङ्ग्वेजलाई निरन्तरता दिइएको छ । यसको अगाडिको भागमा निरन्तर जोडिएको डीआरएल लाइट स्ट्रिप, दुई भागमा विभाजित हेडलाइट र एक्टिभ ग्रिल दिइएको छ । त्यस्तै, छतमा लाइडार प्रविधि राखिएको छ । जसले यसमा उन्नत चालक सहायता प्रणाली (एडास) उपलब्ध हुने संकेत गर्छ ।

गाडीको साइडमा क्रोमको सजावट र डिस्क डिजाइनका पाँग्रा देख्न सकिन्छ । पछाडिको भागमा पनि निरन्तर जोडिएको टेललाइट स्ट्रिप, ठूलो अक्षरमा लेखिएको ‘लिपमोटर’ नाम र क्रोम सजावटसहितको बम्पर दिइएको छ ।

लिपमोटर डीएक्सको लम्बाइ ५१५१ एमएम, चौडाइ १९९९ एमएम र उचाइ १७७५ एमएम छ । यसमा ३११० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

लिपमोटरले आफ्नो उत्पादनलाई ए, बी, सी र डी गरी चारवटा सिरिजमा विभाजन गरेको छ । यीमध्ये डी सिरिज कम्पनीको सबैभन्दा उच्च श्रेणीको उत्पादन हो । हाल यस सिरिजमा डी१९ एसयूभी र डी९९ एमपीभी उपलब्ध छन् । दुवै मोडल प्योर ईभी र ईआरईभी विकल्पमा उपलब्ध छन् ।


Back_to_top