रोयल इनफिल्डको प्राथमिकतामा विद्युतीय मोटरसाइकल, १६ अर्ब लगानी गर्ने

काठमाडौं । रोयल इनफिल्डले विद्युतीय मोटरसाइकल व्यवसाय विस्तारका लागि १ हजार करोड भारु ( १६ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने भएको छ । कम्पनीले भारतको तमिलनाडु प्लाण्टको क्षमता विस्तारमा उक्त लगानी गर्ने भएको हो ।

कम्पनीले आगामी सात वर्षभित्र उक्त लगानी गर्ने योजना बनाएको हो । यस सम्बन्धमा रोयल इनफिल्ड र तमिलनाडु सरकारबीच चेन्नईमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

कम्पनीले उक्त लगानी नयाँ विद्युतीय मोटरसाइकलको डिजाइन, विकास र त्यससँग सम्बन्धित प्रविधिको अनुसन्धानमा खर्च गर्ने जनाएको छ। आवश्यकताअनुसार उत्पादन पूर्वाधारमा समेत लगानी गरिनेछ। यस परियोजनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५०० जनासम्मले रोजगारी पाउने अपेक्षा गरिएको छ।

हाल रोयल इनफिल्डले तमिलनाडुको भल्लम वडागलमा विद्युतीय मोटरसाइकल उत्पादनका लागि छुट्टै प्लाण्ट तथा फ्लाइङ फ्लियाको अनुसन्धान प्रयोगशाला संचालन गरिरहेको छ ।

ईभी व्यवसायमा लगानी गर्ने घोषणा गरेको रोयल इनफिल्डले यसअघि फेब्रुअरीमा आफ्नो चेय्यार प्लाण्ट विस्तारका लागि ९५८ करोड भारु लगानी गर्ने जनाएको थियो । उक्त विस्तार सम्पन्न भएपछि कम्पनीको वार्षिक मोटरसाइकल उत्पादन क्षमता २० लाख युनिट पुग्नेछ ।

कम्पनीले यसै वर्ष आफ्नो पहिलो विद्युतीय मोटरसाइकल फ्लाइङ फ्लिया सी६ को बिक्री सुरू गरेको छ भने चाँडै एस ६ पनि बिक्रीमा ल्याउने तयारी गरिरहेको छ ।

रोयल इनफिल्डको ईभी मोडल भारतसँगै युरोप र बेलायतमा पनि बिक्री हुँदै आएको छ । रोयल इनफिल्डले सन् १९५५ देखि भारतको चेन्नईमा मोटरसाइकल उत्पादन सुरू गरेको थियो ।


Back_to_top