काठमाडौं । यामाहाको लोकप्रिय स्कुटर फसिनो १२५ नेपाली बजारमा पुनः प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले आधिकारिक रूपमा फसिनो १२५ को बिक्री सुरू गरेको हो ।
कम्पनीले फसिनो १२५ को विभिन्न ३ भेरियन्ट उपलब्ध गराएको छ । जसमा ड्रम भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, डिस्क भेरियन्टको ३ लाख २९ हजार ९०० रुपैयाँ र फसिनो एसको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।
भारतमा लामो समयदेखि बिक्री हुँदै आइरहेको फसिनो १२५ को तीनै भेरियन्ट नेपालमा पनि उपलब्ध भएको छ । नेपालमा स्कुटर बजार विस्तार भइरहेको बेला रिइन्ट्री गरेको फसिनो १२५ नयाँ विकल्पको रूपमा आएको हो ।
रेट्रो डिजाइन, हाइब्रिड प्रविधि, स्मार्ट कनेक्टिभिटी र सहज राइडिङ अनुभवलाई प्राथमिकता दिइएको यो स्कुटरले आफ्नो सेग्मेन्टमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।
यहाँ हामीले यसका बलिया ६ पक्षबारे चर्चा गरेका छौं ।
१. आकर्षक रेट्रो डिजाइन
यामाहा फसिनो १२५को मुख्य आकर्षण यसको रेट्रो तथा कर्भी डिजाइन हो । गोलाकार शैलीको बडी डिजाइन, आकर्षक फ्रन्ट प्रोफाइल र आधुनिक लाइटिङले यसलाई अन्य स्कुटरभन्दा फरक पहिचान दिएको छ ।
यसको बाहिरी बनावटमा क्लासिक स्कुटरको झल्को पाइन्छ । तर, आधुनिक डिजाइन एलिमेन्ट र लाइटिङको प्रयोगले यसलाई नयाँ पुस्ताका ग्राहकका लागि पनि आकर्षक बनाएको छ ।

यसमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि युनिट स्विङ सस्पेन्सन दिइएको छ । अगाडि १२ इन्च र पछाडि १० इन्चका ह्वील प्रयोग गरिएको छ । विशेषगरी फरक लुक्स र स्टाइललाई प्राथमिकता दिने ग्राहकका लागि फसिनो १२५ राम्रो विकल्प बन्न सक्छ ।
२. फ्युल इन्जेक्सनयुक्त ब्लू कोर इन्जिन
यामाहा फसिनो १२५ मा १२५ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिन्डर, फ्युल इन्जेक्सनयुक्त ब्लु कोर इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ८.२ पीएस पावर र १०.३ एनएम टर्क उत्पादन गर्छ ।
यसमा यामाहाको स्मार्ट मोटर जेनेरेटर प्रणाली प्रयोग गरिएको छ । यही प्रणालीले स्कुटरको हाइब्रिड असिस्ट प्रविधिमा मुख्य भूमिका खेल्छ । यसले इन्जिन स्टार्ट गर्दा हुने आवाज कम गर्न, एक्सेलेरेसनका बेला अतिरिक्त शक्ति उपलब्ध गराउन र ट्राफिक जाममा रोकिँदा इन्धन कम खपत गर्नमा सहयोग पुर्याउँछ ।
यसमा अटोमेटिक सीभीटी ट्रान्समिसन प्रयोग गरिएकाले गियर परिवर्तन नगरी सहज रूपमा स्कुटर चलाउन सकिन्छ ।
३. स्मार्टफोन कनेक्टिभिटी
फसिनो १२५ को टप भेरियन्ट फसिनो एसमा उपलब्ध स्मार्ट फिचर अर्को आकर्षण हो । यसमा कलर टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी र टर्न बाइ टर्न नेभिगेसन सुविधा दिइएको छ ।

यामाहाको वाई–कनेक्ट प्रविधिमार्फत स्मार्टफोनलाई स्कुटरसँग जोड्न सकिन्छ । यसबाट फोनमा आउने कल तथा अन्य नोटिफिकेसन सम्बन्धी जानकारी स्कुटरको इन्स्ट्रुमेन्ट क्लस्टरमा हेर्न सकिन्छ । त्यस्तै, टर्न–बाइ–टर्न नेभिगेसनले यात्राका क्रममा आवश्यक दिशा पहिचान गर्न सहयोग गर्छ । यी फिचरले फसिनो एसलाई सामान्य स्कुटरभन्दा बढी प्रविधिमैत्री बनाएका छन् ।
४. हलुका तौल
फसिनो १२५ को अर्को बलियो पक्ष यसको हलुका तौल हो । यसको तौल करिब ९९ किलोग्राम रहेको छ । हलुका तौलका कारण सहरी क्षेत्रमा स्कुटर चलाउन, मोड्न र पार्किङ गर्न सहज हुन्छ ।
५. उत्कृष्ट माइलेज : फसिनो हाइब्रिड प्रविधि भएकाले माइलेजका आधारमा उत्कृष्ट मानिएको छ । यसले प्रतिलिटर ५० देखि ६८ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । यसमा ५.२ लिटर क्षमताको इन्धन ट्यांक छ । एकपटक ट्यांकी फुल गर्दा करिब ३०० किमी यात्रा गर्न सकिन्छ ।
६. सुरक्षा र पर्याप्त स्टोरेज सुविधा
फसिनो १२५ मा दैनिक प्रयोगलाई उपयोगी हुने सुरक्षा तथा सुविधाजनक फिचर पनि समावेश छन् । तीनै भेरियन्टमा एलईडी लाइटिङ, साइड स्ट्यान्ड इन्जिन कटअफ र युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस) उपलब्ध छ ।
साइड स्ट्याण्ड इन्जिन कटअफले साइड स्ट्याण्ड तल रहेको अवस्थामा इन्जिन संचालन हुनबाट रोक्न सहयोग गर्छ । यसमा २१ लिटर क्षमताको अन्डर सिट स्टोरेज दिइएको छ । यसले हेल्मेट तथा दैनिक प्रयोगका साना सामान राख्न उपयोगी हुन्छ ।
आकर्षक मूल्य, हाइब्रिड प्रविधि, हलुका तौल र स्मार्ट फिचरसहित उपलब्ध फसिनो १२५ सीसी सेग्मेन्टमा एउटा आकर्षक विकल्प बन्ने देखिन्छ ।

