रेनो ट्राइबरको बुकिङ सुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । एड्भान्स अटोमोबाइलले रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले रेनोको पछिल्लो उत्पादन ट्राइबरलाई नाडा अटो शो २०१९ मा प्रदर्शनी गरेको थियो ।

भारतीय बजारमा २०१९ अगस्त २८ तारिखमा सार्वजनिक भएको रेनो ट्राइबर अबभने नेपाल आउने पक्का भएको हो ।

‘हामीले ट्राइबरको बुकिङ खुल्ला गरेका छौं । अबको केही दिनमा नै नेपालमा आधिकारीक सार्वजनिक गर्ने छौं’ एड्भान्स अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रावालले भने ।

ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तिन भेरियन्टमा उपलब्ध हुनेछ । तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ ।


आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ ।

उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।

कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

रेनो–निसान–मित्सुविसीको सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीडको बेस्डमा तयार भएको ट्राइबरको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । ग्राहकले यसमा ६२५ लिटरको विशाल बुटस्पेश पाउने छन् ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँबाट सुरु हुनेछ । कम्पनीले आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top