काठमाडौं । बजाजको सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर २२०को एबीएस भर्सन नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले नेपालमा १० दिन पछि उक्त मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।
बजाज अटोले केही समय अगाडि भारतीय बजारमा बजाज पल्सर २२० को एबीएस भर्सन सार्वजनिक गरेको थियो ।
दुवै ह्वीलमा डिस्क ब्रेक रहको यो मोटरसाइकल हाल नेपाली बजारमा नन् एबीएस भर्सनमा विक्री हुँदै आएको छ । अब को १० दिन पश्चात एबीएस सहितको पल्सर २२० नेपाली बजारमा सार्वजनिक गर्ने तयारी रहेको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।
सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यस बाइकको टपस्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।
नेपाली बजारमा नन् एबीएस भर्सनको मूल्य ३ लाख १४ हजार ९०० रहेको छ । एबीएस भर्सनमा सार्वजनिक हुँदा यसको मूल्य १० देखि १२ हजार मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । कम्पनी स्रोतका अनुसार एबीएस भर्सनको मूल्य ३ लाख २५ हजार हुने अनुमान रहको छ ।


