काठमाडौं । टुटल र पठाओ जस्ता राइड सेयररिङ प्ल्याटफर्म बन्द गर्न माग गर्दै आन्दोलनमा उत्रेका ट्याक्सी व्यवसायीहरुसँग सरकारले वार्ता गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैंठकमा ट्याक्सी व्यवसायीले रातो नम्बर प्लेटमा अनाधिकृत र गैह्रकानुनी रुपमा प्यासेनजर बोक्ने काम भएको भन्दै यसमा तत्काल रोकलगाउन ट्याक्सी व्यवसायीले माग गरेका थिए ।
मन्त्री वसन्तकुमार नेम्वाङसहित भएको बैंठकमा व्यवसायीले विगत लामोसमयदेखि ट्याक्सीको भाडा नबढेकाले तत्काल भाडा बढाउन माग गरेका थिए ।
व्यवसयाीले विगत लामो समयदेखि भाडा नबढाएको भनेपनि २०७५ असोजमा ट्याक्सीको भाडामा १० प्रतिशतले वृद्धि गरिएको थियो ।
ट्याक्सीको भाडा बढाउने विषय र राइड सेयरिङ कम्पनीले अनाधिकृत रुपमा पेसेन्जर बोकेको विषयमा चाँडै टुङ्गो लगाउने गरि एउटा कमिटी बनाएर कामअघि बढाउने जानकारी मन्त्री नेम्वाङले दिएका थिए ।
सबै प्रक्रिया पुरागरेर आगामी बैशाखसम्ममा भाडा वृद्धिको विषय टुङ्गाउने बैंठकमा सहमति भएको थियो ।
यसअघि पनि यातायात व्यवस्था विभागले निजी सवारीसाधनमा पेसेन्जर नबोक्न सूचना जारी गर्दै आएको थियो । पछिल्लो पटक उच्च अदालत पाटनले यस्ता राइड सेयरिङ कम्पनीलाई कानुन बनाएर संचालन गर्न दिन आदेश दिएसँगै मन्त्रालयले यसमा काम गरिरहेको जनाएको छ ।


