काठमाडौं । जापानीज मोटरसाइकल निर्माता कम्पनी सुजुकीले आफ्नो चर्चित मोटरसाइकलको भारतीय बजारमा विक्री बन्द गरेको छ । कम्पनीले सुजुकी हायाबुसा मोटरसाइकलको विक्री बन्द गरेको हो ।
भारतीय सरकारले अप्रिल २०२० बाट बीएस ४ सवारी साधनको विक्रीमा रोक लगाएको छ भने बीएस ६ अनिवार्य गरेको छ ।
कम्पनीले गत डिसेम्बर २०१९ मा हायावुसाको २०२० मोडल सार्वजनिक गरेको थियो । उक्त मोटरसाइकल बीएस ४ इन्जिनमा रहेको थियो । भारतमा लागू भएको नयाँ प्रदूषण मापदण्ड बीएस ६ मा कम्पनीले यो मोटरसाइकल निर्माण नगर्ने भए पश्चात् भारतीय बजारमा यो मोटरसाइकलको विक्री बन्द हुने भएको हो ।
कम्पनीका अनुसार भारतमा यो मोटरसाइकल स्टकमा समेत नरहेको जनाएको छ । भारतीय बजारमा १३ लाख ८० हजारमा विक्री भइरहेको यो मोटरसाइकल अब उपलब्ध नहुने भएको हो ।
यो मोटरसाइकलमा १३४० सीसी, ४ सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १९७ बीएच पावर तथा १५५ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल सबैभन्दा छिटो कुद्नेमध्ये एक मोटरसाइकल समेत रहेको छ ।

