डलरको कारण यी कम्पनीका गाडीको मूल्य बढ्न सक्ने

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरसको कारण डलर मूल्यमा भएको उच्च वृद्धिको असर गाडीको मूल्यमा पर्ने भएको छ । भारत बाहेको देशबाट आयत भएर नेपालमा बिक्री वितरण हुँदै आएका गाडीमा यसको सबैभन्दा धेरै असर पर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको विक्रीदर आजका लागि ११८ रुपैयाँ ५८ पैसा तोकिएको छ । शुक्रबार यो दर ११९ रुपैयाँ ०४ पैसा थियो ।

यसरी नेपाली मुद्राको अवमूल्यन हुँदा भारत बाहेकका देशबाट नेपाल ल्याएर बिक्री वितरण हुँदै आएका गाडीको मूल्यमा बढ्ने देखिएको हो । यसको सबैभन्दा धेरै असर टोयोटा, एमजी, किया, हुन्डाई, स्याङयोग, डोङफेन जस्ता ब्राण्डमा देखिने भएको छ ।

अहिले टोयोटाले बिक्री गर्दै आएको हाइलक्स, हायस, रस, ल्याण्डक्रुजर, प्राडोजस्ता मोडलहरु जापान तथा थाइल्याण्डबाट ल्याएर बिक्री गर्दै आएको छ । यस्तोमा यी गाडी डलरमा किनेर ल्याउनु पर्ने भएकाले यसको मूल्य बढ्न सक्ने देखिन्छ ।

त्यसैगरी कियाले बिक्री गर्दै आएको स्पोर्टेज, निरो, सेराटो लगायतका मोडलपनि कोरियाबाट आयात गरेर बिक्री गर्दै आएको छ । यस्तोमा कियाको गाडीको मूल्यमा समेत डलरले निकै प्रभाव पार्ने देखिन्छ ।

एमजीले बिक्री गर्दै आएको जेडएस एसयूभी, जिएस एसयूभी र इलेक्ट्रीक इजेडएस चिनीयाँ बजारबाट आयात गर्ने गरेको छ । यस्तोमा कम्पनीले बिक्री गर्ने कारको मूल्यमा वृद्धि हुन सक्ने देखिएको छ ।

हुन्डाईले भारत बाहेक कोरियाबाट ल्याएर कोना इलेक्ट्रीक, आयोनिक इलेक्ट्रीक, टुसान, शान्ताफे जस्ता मोडल बिक्री वितरण गर्दै आएको छ । यस्तोमा डलर मूल्यको कारण हुन्डाईका यी गाडीको मूल्यमा वृद्धि हुन सक्ने देखिएको छ ।

यी कम्पनीका अलावा स्कोडाले चेक गणतन्त्रबाट ल्याएर गाडी बिक्री गरिरहेको छ भने डोङफेनका उत्पादन इन्डोनेसियाबाट आयात भइरहेको छ । यी गाडीको मूल्यमा डलरको असर देखिने छ ।

कोरियन स्याङ्योङ, केही चिनियाँ उत्पादन, निसान एक्सट्राल, सुबारु, माज्दा, होन्डा लगायतका कम्पनीले भारत बाहेकका तेस्रो मूलूकबाट ल्याएर बिक्री गर्दै आएको मोडलहरुको मूल्यमा वृद्धि हुनसक्ने देखिएको छ ।


Back_to_top