निसानले भारतमा उत्पादन गर्न लागेको सब फोर मिटर एसयूभीको नाम ‘म्याग्नाइट’ राख्ने अनुमान सहि भएको छ । कम्पनीले निसान ‘म्याग्नाइट’ नामको ट्रेडमार्क दर्ता गरेसँगै यसको पुष्टी भएको हो ।
अघिल्लो वर्ष कम्पनीले डाट्सन म्याग्नाइट नाम दर्ता गरेको थियो भने केही दिनअघि निसान म्याग्नाइट नाम दर्ता गरेको हो । डाट्सन निसान समूहको सस्ता गाडी बनाउने ब्राण्ड हो ।
कम्पनीले नयाँ एसयूभीको टिजर तयार गरेर विभिन्न किसिमका गतिविधि संचालन गरेबाट आउँदो केही महिना भित्र म्याग्नाइट सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । कम्पनीले विशेषत भारतीय बजार हेरेर निर्माण गरेको यो गाडी संभवत आगामी केही महिना भित्र मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३०० जस्ता गाडीसँग प्रतिस्पर्धा गर्न तयार हुनेछ ।
कम्पनीले ‘सिएमएफ ए प्लस’ प्ल्याटफर्ममा तयार गरेको यो एसयूभी रेनो क्वीडको प्लेटफर्ममा नै बनाइएको हो । यही प्ल्याटफर्ममा रेनोले पनि नयाँ सव फोर मिटर एसयूभी ल्याउने छ ।
कम्पनीले म्याग्नाइटमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिनेछ । तीन सिलिण्डर टर्बो इन्जिनले अधिकतम १०० पीएस पावर र १६० एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ ।
यसको मूल्यपनि अन्य गाडीको जस्तै करिब ३५ लाख नेपाली रुपैयाँदेखि सुरु हुने अनुमान गर्न सकिन्छ ।

