लकडाउन खुलेपछि एक दर्जन नयाँ कार नेपाल आउँदै

काठमाडौं । नेपाली नयाँ वर्ष आउन १ दिन मात्र बाँकी छ । नयाँ वर्ष पारेर सबै गाडी बिक्रेता कम्पनीहरुले अफरहरु सार्वजनिक गर्ने गरेका थिए । यस वर्षको नयाँ वर्षको उल्लास र उमङ्ग छैन । कारण विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस हो । यही भाइरसको कारण नयाँ वर्षमा बजारमा आउने नयाँ गाडीसमेत आउन सकेका छनैन् ।

अब लकडाउन सकिएपछि यसअघि बजारमा ल्याउन लागिएका कार तथा एसयूभी क्रमिक रुपमा नेपाल आउने छन् ।
लकडाउन सकिएर बजार राम्रोसँग खुल्न थालेपछि टाटा, हुन्डाई, रेनो, निसान, मारुती सुजुकी, जीप, महिन्द्रा लगायतका कम्पनीले नयाँ कार बजारमा ल्याउने छन् ।

टाटाको अधिकारीक वितरक सिप्रदी ट्रेडिङले प्रिमियम ह्याचव्याक अल्ट्रोज सार्वजनिक गर्ने जनाएको छ । साथै, एड्भान्स अटोमोवाइल रेनोले दुई मोडल क्वीड र डस्टरको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने छ ।

त्यस्तै महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले केयूभी १०० इलेक्ट्रीक र पायोनियर मोटर्सले निसानको इलेक्ट्रीक सेडान कार लिफ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्नो चर्चित कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा पेट्रोल इन्जिनमा सार्वजनिक गर्नेछ ।

नेपाली बजारमा हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले तीन नयाँ मोडल ल्याउने तयारी गरिरहेको बुझिएको छ । संभवत कम्पनीले ग्रान्ड आई १० नियोस, नयाँ क्रेटा र अउरा क्रमिक रुपमा ल्याउने छ । यसका अलावा जीपले ग्राण्ड चेरोकी र र्याङलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।


Back_to_top