काठमाडौं । टोयोटाको चर्चित पिकअप हाइलक्सको फेसलिफ्ट मोडलको तस्विर बाहिर आएको छ । कम्पनीले फेसलिफ्ट गर्दै गरेको दुई फरक भेरियन्टको तस्विर बाहिर आएको हो । टोयोटाको निकै उत्कृष्ट मानिएको ट्रापिजोडल ग्रिलको साथ आउने नयाँ हाइलक्स निकै आकर्षक देखिएको छ ।
परिमार्जित ग्रिलसँगै एउटा भेरियन्टमा नयाँ एलइडी प्रोजेक्टर हेडल्याम्प र अर्कोमा हेलोजिन हेडल्याम्प रहने अनुमान गरिएको छ । यसमा दिइएको अगाडिको बम्पर पूर्णत नयाँ हुने छ । यसमा प्रयोग गरिएको स्कीड प्लेट र एल सेप फउ भेन्टले यसको अगाडिको भागलाई निकै आक्रमक देखाएको छ ।
यसको अलावा कम्पनीले यसमा नयाँ डिजाइनको अलोय ह्वील प्रदान गरेको छ । साथै यसको पछाडि भागमा इ सेप एलइडी लाइट दिएको छ । यसका अलावा पछाडिको भागमा खासै परिमार्जन गरेको छैन ।
पहिले बाहिर आएको तस्विरमा एक्सटेरियर डिजाइन मात्र देखिएकाले यसको इन्टेरियरमा कस्ता परिमार्जन गरिएको छ भन्ने विषय खुलाईएको छैन ।
यसलाई दुई इन्जिन अप्सनमा नै बजारमा उतार्ने छ भने यसलाई टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा ल्याइने जनाइएको छ ।
नेपाली बजारमा विगतदेखि नै बिक्री हुँदै आएको टोयोटा हाइलक्स निकै चर्चित डबल क्याब पिकअप हो ।
२.४ लिटर डिजेल इन्जिनमा बिक्री हुने २जीडी–एफटीभीको मूल्य ८७ लाख ५० हजार रुपैयाँ रहेको छ । २.८ लिटर डिजेल इन्जिन युक्त पिकअपको मूल्य १ करोड १ लाख रुपैयाँ रहेको छ ।

