काठमाडौं । कोरोनाको असर हरेक क्षेत्रमा परेको छ । उत्पादन मुलक उद्योग, साना मझौला व्यवसाय, सेवा क्षेत्र, कृषि क्षेत्र र ट्रेडिङ व्यवसाय सबैलाई यसको असर परेको छ । यस्तो अवस्थामा हामीले यहाँ समग्र अटोमोवाइलमा परेको असरका बारेमा चर्चा गर्न खोजेका छौं ।
विगत ५५ दिनदेखि सम्पूर्ण कारोबार बन्द रहेकाले अटो क्षेत्र खुल्ने कुरै भएन । अटोमोवाइल बिक्रेताले सबै उत्पादन बाहिरबाट आयात गरेर बिक्री गर्ने हुँदा अर्बौ मूल्यका सवारीसाधन ल्याएर स्टकमा राखेका हुन्छन् । त्यसैले यति लामो समयसम्म ति साधन लक गरेर राख्दा अर्बौ रुपैयाँ घाटा व्यहोर्नु पर्ने अवस्था आएको हो ।
अहिलेसम्म कुनै पनि कम्पनीले व्यहोरेको घाटा आधिकारीक रुपमा बाहिर नआएपनि यो क्षेत्रले अर्बौको घाटा व्यहोरेको छ । अहिले नेपालमा करिब ५० ब्राण्डका सवारीसाधन बिक्री हुँदै आएको छ । जसमा करिब दुई दर्जन दुई पाङ्ग्रे र त्यति नै संख्यामा चार पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने कम्पनीहरु रहेका छन् ।
यस्तोमा हरेक कम्पनीले लकडाउनको कारण गुमाउने विषयलाई हामीले यहाँ उल्लेख गरेका छौं ।
१. ठूलो लगानीः अटोमोवाइल क्षेत्र निकै ठूलो लागत भएको क्षेत्र हो । यो क्षेत्रमा चालु र स्थिर पुँजी दुबै ठूलो मात्रामा लगानी भइरहेको छ । अहिले अधिकांश कम्पनीको स्थिर पुँजी लगानी १५ करोडभन्दा बढी रहेको छ भने धेरै संख्यामा सवारीसाधन बिक्री गर्ने र धेरै आउटलेट खोलेका कम्पनीको पुँजी १ अर्व ५० करोडसम्म रहेको छ ।
लगानीकै कुरागर्दा अटोमोवाइल क्षेत्रमा सिर्भिसलाई उद्योगको रुपमा विकास गरिएको छ । हरेक कम्पनीले खोल्ने सर्भिस सेन्टरहरु आफैमा एउटा उद्योग हुन् । अहिले कम्पनीहरुले एउटा सर्भिस सेन्टर निर्माण गर्न ५ देखि १० करोडसम्म खर्च गर्न थालिसकेका छन् । यसले यो क्षेत्र अन्य उद्योग सरहनै समस्यामा परेका छन् ।
२. व्याज खर्चः अटोमोवाइल क्षेत्रमा अहिले ठूलो संख्यामा सवारीसाधन स्टकमा रहन गएको छ । नेपालमा बिक्री हुने अधिकांस सवारीसाधन भारतमा उत्पादन भएका हुन् । यसरी भारतमा उत्पादन भएका सवारीसाधन अर्थिक वर्षको अन्त्यमा नेपाल धेरै आयात हुने विगतले देखाउँछ । यसवर्ष पनि मार्चको अन्तिम समयमा लकडाउन सुरु भएकाले धेरै गाडी नेपाल आएका छन् ।
जति धेरै स्टकमा सवारीसाधन रहन्छ, त्यति नै धेरै व्याज खर्च बढ्छ । त्यसैले अटो बिक्रेता कम्पनीको ठूलो खर्च व्याज भुक्तानीमा हुने गर्छ । लकडाउन लामो समयदेखि चल्दै आएको र अझै अनिश्चित रहेको समयमा व्याजको ठूलोमार अटोमोवाइल व्यवसायमा पर्ने छ ।
३. कर्मचारी खर्चः सवारीसाधन बिक्रेता कम्पनीमा प्रत्यक्ष ३० हजार मानिसले रोजगारी पाइरहेको अनुमान गरिएको छ । काम नभएपनि संकटको समयमा कर्मचारीको तलव तत्काल कटौती गर्न सक्ने अवस्थामा व्यवसायीहरु छैनन् । उनिहरुको खर्च नियमित भइरहेको छ ।
४. शोरुम भाडाः नेपालको कुना काप्चासम्म लगेर कम्पनीहरुले आफैं वा डिलर दिएर शोरुम र सर्भिस सेन्टरहरु संचालन गरिरहेका छन् । यस्तोमा लामोसमय बन्द हुँदा त्यसको खर्च पनि बढि रहेको हुन्छ ।
निष्कर्षः अटोमोवाइल व्यवसाय एउटा ट्रेडिङ व्यवसाय मात्र होइन । नेपालको हकमा यो आफैमा उद्योग पनि हो । जति मानिसलाई यो क्षेत्रले रोजगारी दिएको छ । त्यति रोजगारी ५० अर्वमा खुलेको एउटा उद्योगले पनि दिन सक्दैन । अहिले यो क्षेत्र समस्यामा परेको छ । यसलाई बचाउन सक्ने हो भने धेरै मानिसको रोजगारी, यो क्षेत्रमा रहेको लगानी र भोलि सरकार प्रतिको विश्वसनियता बढाउने छ ।
त्यसैले सरकारले अटोमोवाइल व्यवसायीसँग अहिलेको अवस्थाको विषयमा छलफलगरि यो क्षेत्रलाई बचाउन के कस्ता कदम चाल्न आवस्यक छ भन्ने एकिन गर्नु पर्छ । त्यसमा व्यवसायीले पनि आफ्नो जायज समस्या राखेर छलफलमा जुट्नु पर्छ ।

