काठमाडौं । टाटा मोटर्सको ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङको आधिकारिक डिलर शशिला मोटर्सले गाडी खरिदका लागि अनलाईन सुविधा सुरु गरेको छ । केही दिनअघि सिप्रदीले टाटाका कार अनलाइनबाट किन्न सकिने गरि डिजिटल प्ल्याटफर्म तयार गरेको थियो ।
कम्पनीले कोभिड १९ का कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको प्रारम्भ गरेको जनाएको छ । यससँगै अब उपभोक्ताले टाटाका ब्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । कम्पनीले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार र मोटरसाइकलहरु अनलाइनबाटै खरिद विक्री गर्न सक्ने सुविधा दिएको थियो ।
वेबसाइटको शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद विक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।
शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए ।
वेब साइट भित्रको भच्र्यूयल शोरुम मार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ ब्यवसायिक गाडीहरु अनलाइनमै वुकिङ गरि खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा वाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछन् ।
आफूसँग भएका पुराना ब्यवसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन् । शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताबीच समन्वय गरिदिने जनाएको छ ।

