भोलिदेखि सवारी साधन नामसारी नहुने, कर र इम्बोस्ड नम्वर प्लेटको राजस्व भने लिने

काठमाडौं । यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, बागमती प्रदेश ललितपुर कार्यालयले आज एक सूचना जारीगरि भोलि साउन २६ गतेबाट सवारी साधनको नामसारी लगायतका काम अर्को निर्णय नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।

भोलिबाट यातायात कार्यालय एकान्तकुनाबाट ग्राहकले वार्षिक कर तिर्ने, बीलबुक नविकरण गर्ने र इम्बोस्ड नम्बर प्लेट जडानको लागि राजस्व दाखिला गर्ने सेवा पाउने छन् । यी बाहेक अन्य कुनै किसिमको सेवा नपाउने कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

‘हामीले जोखिम न्यूनिकरण गर्नै नसक्ने अवस्था आयो । हजारौं मानिसको लाइन लाग्ने अवस्था छ । यस्तो अवस्थामा कर्मचारीले काम गर्न नसक्ने भएकाले राजस्व संकलन बाहेकका सेवा रोक्नु परेको हो’, कार्यालय प्रमुख यादवप्रसाद आचार्याले भने ।

उनका अनुसार कोभिडको डर बढ्दै जान थालेकोले काम रोक्नु पर्दा सेवाग्राहीलाई अफ्ठेरो परेको भएपनि अहिलेको अवस्थामा सेवा संचालन गर्न कठिन भएकाले केही दिनलाई सेवा रोकिएको हो ।

‘प्रदेश सरकारले बिलबुक नविकरण, वार्षिक कर र इम्बोस्ड नम्बर प्लेटको राजस्व संकलन गर्ने काम जोर–बिजोर अनुसार गर्न भनेकाले हामीले त्यहि अनुसार सूचना निकालेका हौं’ आचार्यले भने ।

यसरी यातायात व्यवस्था कार्यालयले नामसारी लगायतका सेवा बन्द गर्ने सूचना प्रकाशित गरेसँगै अटोमोवाइल व्यवसायीहरु भने निरास बनेका छन् । बल्ल केही दिनदेखि गाडीका शोरुममा मानिसको आवत जावत बढेको थियो । अब यसरी कर लिने बाहेकका सबै सेवा बन्द भएपछि ग्राहक नै नआउने हुन् कि भन्ने चिन्ता व्यवसायीहरुमा रहेको पाइन्छ ।

तर, कार्यालय प्रमुख आचार्य कर उठाउने काउन्टर संचालन गर्नु पर्ने काम पनि सेवा नै भएको र करका विषयमा सरकारले थप निर्णय नगरेकाले बाध्य भएर यी सेवा खुल्ला राख्नु परेको तर्क गर्छन् ।


Back_to_top