काठमाडौं । हुन्डाई मोटर्सले इलेक्ट्रीक कार उत्पादन गर्न छुट्टै सहायक ब्राण्ड खोलेको छ । कम्पनीले खोलेको नयाँ ब्राण्डको नाम आयोनिक राखेको हो । अब हुन्डाईले बनाउने इलेक्ट्रीक कार आयोनिक ब्राण्डबाट आउने छ ।
कम्पनीले आयोनिक ब्राण्डबाट ल्याउने पहिलो एसयूभी ‘आयोनिक ५’ हुने जनाएको छ । हुन्डाईको प्रिमियम एसयूभी बनाउने ब्राण्ड जेनिसस रहेको छ भने अब इलेक्ट्रीक कार बनाउने ब्राण्ड आयोनिक हुने छ ।
हुन्डाईको लागि आयोनिक नौलो नाम होइन । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा सेडान कारको रुपमा बिक्री गर्दै आएको आयोनिक कम्बस्चन इन्जिन, हाइब्रिड र अल इलेक्ट्रीक मोडलमा उपलब्ध रहेको छ । नेपालमा पनि आयोनिक इलेक्ट्रीकको बिक्री वितरण हुँदै आएको थियो । अब भने यो कारको नाम परिवर्तन हुन सक्ने जनाइएको छ ।
अब आयोनिक ब्राण्ड नेममा आउने एसयूभीमा आयोनिक र पछाडि बिजोर नम्बर हुने छ भने आयोनिक र पछाडि जोर नम्बर हुने कार सेडान र
ह्याचव्याक हुने छ । कम्पनीले यो ब्राण्डमा ल्याउने पहिलो एसयूभी २०२१ मा बजारमा आउने छ । जुन आयोनिक ५ हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सन् २०२२ मा आयोनिक ६ सेडान कार बजारमा ल्याउने छ । आयोनिक ७ एसयूभी भने २०२४ सम्ममा बजारमा ल्याउने योजना हुन्डाई मोटर्सको रहेको छ ।

