काठमाडौं । सरकारले विद्युतीय कारमा लगाएको अन्तःशुल्क ८० प्रतिशतसम्मले घटाएको छ । चालु आर्थिक वर्षको बजेटबाट लगाइएको अन्तःशुल्क घटाउने निर्णय आज बसेको मन्त्रिपरिषद्ले गरेको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको विहीबारको बैठकले अन्तःशुल्कको दर घटाउने निर्णय गरेको हो। विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार अन्तःशुल्क ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको थियो ।
विहीबारको निर्णयअनुसार ३० प्रतिशत अन्तःशुल्क लाग्ने ५० किलोवाटसम्मका गाडीमा ८० प्रतिशत छुट दिइएको छ।
त्यसैगरी ५१ देखि १०० किलोवाटसम्म मोटर प्रयोग भएको गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत अन्तःशुल्कमा छुट दिने निर्णय भएको हो ।


