एलसी खोलेका ३५५ यूनिट इलेक्ट्रीक कार नेपाल ल्याउने तयारी

काठमाडौं । सरकारले विद्युतीय कारमा चालु आर्थिक वर्षको बजेटबाट बढाएको कर मध्ये अन्तःशुल्कमा केही कम गर्ने निर्णय गरेसँगै गाडी बिक्रेता कम्पनीहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । विशेषत विद्युतीय गाडी बिक्री गर्दै आएको हुन्डाई, किया, महिन्द्रा, बिवाइडी र एमजी जस्ता ब्राण्डले एलसी खोलेर मगाएका कारहरु भित्र्याउने तयारी थालेका हुन् । उनीहरु मन्त्रीपरिषद्को निर्णय आधिकारीक रुपमा बाहिर आउने पखाईमा रहेका छन् ।

अहिले एलसी खुलेका करिब ३ सय ५५ यूनिट गाडी नेपाल आउने पर्खाइमा छन् । तर, सरकारले दिएको अन्तःशुल्कमा ८० प्रतिशतसम्मको छुटका बाबजुद पहिलेको तुलनामा अझैँ धेरै मूल्य कायम गर्नु पर्ने भएकाले आन्तरिक गृहकार्यमा कम्पनीहरु जुटेका हुन् ।

‘सरकारले अन्तःशुल्कमा केही छुट दिएको भएपनि अझै पहिलेको तुलनामा एउटै गाडी २० लाखभन्दा बढीले महंगो हुने भएकाले ग्राहकले यति धेरै मूल्यका गाडी सजिलै खरिद गर्नेमा ठुक्क हुन सक्ने ठाँउ छैन’, एक कम्पनीका संचालकले भने ।

उनका अनुसार एलसी खोलेर पठाइ सकेको गाडी ल्याउनुको विकल्प छैन तर, बिक्री हुनेमा शंका छ । अहिले ठूलो संख्यामा एमजी, किया र हुन्डाईका गाडीहरु एलसी खोलेरपनि नेपाल आउन सकेको छैन ।

ठूला ब्राण्डका गाडीमा पहिलेको तुलनामा धेरै मूल्य बढेकाले ग्राहकले सहजै ती गाडी किन्नेमा शंका रहेपनि साना र सस्तो मूल्यका विद्युतीय गाडीहरु भने नेपाल आउने देखिएको छ । अहिले विभिन्न ब्राण्डका इलेक्ट्रीक कार नेपाल आउने क्रममा रहेका छन् । ती गाडी कम मूल्यका र साना मोटर जडान भएका छन् ।

यस्तो हुने छ नयाँ अन्तःशुल्क दर

मन्त्रीपरिषद्को निर्णयपछि इभीमा लाग्ने अन्तःशुल्क कम भएको छ । यसअघि ३० प्रतिशत अन्तःशुल्क लाग्ने ५० किलोवाट क्षमताको मोटर जडान भएको कारमा अब ६ प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने छ भने ४० प्रतिशत अन्तःशुल्क लाग्ने ५१ देखि १०० किलोवाट क्षमताको मोटर जडान भएको कारमा १० प्रतिशत र ५० प्रतिशत लाग्ने १०१ देखि १५० किलोवाट क्षमताका मोटर जडान भएका कारमा १५ प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने छ । त्यसभन्दा माथीका मोटर भएका कारमा अन्तःशुल्कमा अझै कम छुट दिइएको छ ।


Back_to_top