काठमाडौं । यामाहाले करिब १२ वर्षअघि एफजेड सिरिजको उत्पादन सुरु गरेको थियो । एफजेड सिरिजको सुरुवातसँगै यामाहाका मोटरसाइकल नेपालमा निकै सफल हुँदै गएको हो ।
त्यसअघि पनि आरएक्स १००, वाइबीएक्स जस्ता मोडल यामाहाको चर्चित मोटरसाइकलमा पर्थे । भारतमा एफजेड सिरिजको उत्पादन सुरु गरेसँगै यामाहाको नेपालमा बिक्री बढ्दै गएको तथ्यांकले देखाउँछ ।
नेपालमा सर्वाधिक बिक्री हुने होन्डा र बजाजपछि तेस्रो स्थानमा रहेपनि यामाहाको बिक्री यूनिट निकै पछि थियो । तर, एफजेड सिरिज बजारमा आएसँगै यामाहले दुई कम्पनीसँगको अन्तर कम गर्दै लगेको छ । अहिले पनि यामाहा तेस्रो स्थानमा नै रहेको छ । यामाहाले अहिले वार्षिक ४२ हजारदेखि ४५ हजार यूनिटसम्म मोटरसाइकल र स्कुटर मिलाएर बिक्री गर्दै आएको छ । त्यसमा करिब १५ देखि १६ हजार यूनिट एफजेडएस भी थ्रिको हिस्सा रहेको छ ।
यामाहा एफजेडएस भी थ्रिको बजार हिस्सा बढ्दै जानुमा यसको डिजाईन, एफआई इन्जिन, सुरुदेखि नै एबीएस फिचर, आकर्षक लुक्स जस्ता कारण रहेका छन् । यसको नेपाली बजारमा ३ लाख २३ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ ।
अहिले यो सेग्मेन्टमा बजाज पल्सर सर्वाधिक बिक्री हुने मोडल हो भने दोस्रो स्थानमा एफजेडएस भी थ्रि रहेको छ । उसोत यहि सेग्मेन्टमा टीभीएस आरटीआर १६० फोर भी, जिक्सर १५०, होन्डा हर्नेट जस्ता मोडल बजारमा बिक्री भइरहेका छन् ।
नेपालमा यसको सफलताको कारण यसरी उल्लेख गर्न सकिन्छ ।
स्पोर्टस् कम्यूटरः स्पोर्टस् डिजाइन यसको मुख्य आकर्षण हो भने स्ट्रीट फाइटर लुक्सले जो कोहि युवालाई लोभ्याउछ । फराकिलो टायर, मस्कुलर फ्यूल ट्याङ्क, एफजेड सिरिजको तेस्रो जेनेरेशन भएकाले यसले धेरै सफलता पाउन सकेको हो । एफजेडएस भी थ्रिको तेस्रो जेनेरेशन मोडल सन् २०१९ बाट नेपालमा बिक्री हुँदै आएको छ । यामाहाले आर १५ भी थ्रि र एफजेडमा प्रयोग गरेको ‘डेट्योना किट’को प्रयोग यसमा गरेको छ ।
स्टाइलः मस्कुलर डिजाइनमा कुनै पनि मोडल बनाउन यामाहा निकै माहिर मानिन्छ । कम्पनीले बनाउने मोटरसाइकल कुनै न कुनै रुपबाट आफ्ना पर्फमेन्स बाइकबाट प्रेरित हुने गरेको छ ।
एफजेडएस भी थ्रिमा प्रयोग गरिएको क्रोम फिनिससहितको एयर इन्टेक, नयाँ बेली प्यानल, सिंगल पिस सिट, आकर्षक एक्जस्ट, एलइडी हेडल्याम्प र अन्य लाइट पनि आकर्षक तरिकाले दिइएको छ । झट्ट हेर्दा नै यसले ग्राहकलाई आकर्षित गर्छ ।
इन्ट्रुमेन्ट क्लष्टरः एफजेड भी थ्रिलाई यसमा दिइएको इन्ट्रुमेन्ट क्लष्टर र स्वीच गियरले पनि सफल बनाएको मान्न सकिन्छ । यसमा फुल डिजिटल नेगेटिभ एलसीडी डिस्प्ले दिइएको छ । यसमा चालकलाई आवश्यक पर्ने सूचना उपलब्ध हुन्छ ।
मोटरसाइकलमा उपलब्ध ७९० एमएमको सिट हाइट अग्ला र होचा सबै चालकलाई फिट हुने भएकाले पनि धेरैको रोजाइमा एफजेड भी थ्रि पर्ने गरेको छ ।
निष्कर्ष
यामाहा एफजेड भी थ्रिले नेपालमा सफलता पाउनुको मुख्य कारण यसको लुक्स र स्टाईल हो । त्यस्तै सहरी क्षेत्रमा पनि ४० देखि ४५ किलोमिटरको माइलेज पाउनु अर्को सफलताको कारण मान्न सकिन्छ ।
यसको ह्याण्डलिङ र राइडिङ पोस्चर निकै उत्कृष्ट रहेको छ । एबीएस सहित आएकोले यसको ब्रेकिङ सिस्टम पनि उत्कृष्ट रहेको छ । सहरी क्षेत्रमा ६० किलोमिटरसम्मको स्पीडमा मोटरसाइकल चलाउँदा चालकले निकै सहज महशुस गर्न सक्छन् ।

