फरक डिजाइन, एउटै मूल्य भएका स्वीफ्ट र नियोसमा कुन राम्रो

काठमाडौं । दशै‌ं सकिएको छ । कार बिक्रेता कम्पनीहरु आफ्नो कार कसरी धेरैभन्दा धेरै बिक्री गर्न सकिन्छ भनेर स्कीम दिइरहेका छन् भने कति कम्पनी नयाँ मोडल सार्वजनिक गरेर ग्राहक आकर्षण गर्न लागि परेका छन् ।

ग्राहकले पनि दशैंदेखि तिहार र छठसम्म धेरै छुट र स्कीम पाउने भन्दै गाडी किन्ने मौका कुरेर बस्ने गरेका छन् । यसपटक कोरोनाको कारण यसअघि जस्तो बिक्रीमा उत्साह नआएको भएपनि बिक्री राम्रै भइरहेको छ ।

यस्तोमा बजारमा उपलब्ध ह्याचव्याक कार मध्ये मारुती सुजुकीले बिक्री गर्दै आएको स्वीफ्ट र हुन्डाईले केही समयअघि नेपालमा बिक्री सुरु गरेको ग्राण्ड आई १० नियोस मध्ये कुन गाडी किन्दा ग्राहकले उत्कृष्ट मूल्य, फिचर र सुविधा पाउँछन् भन्ने विषय हामीले यहाँ उल्लेख गर्न खोजेका छौं ।

विगत र वर्तमान

मारुती सुजुकी स्वीफ्ट सन् २००५ देखि उत्पादन सुरु भएको मोडल हो । यसको सेकेन्ड जेनेरेशन मोडल अहिले बजारमा बिक्री हुँदै आएको छ । कम्पनीले यसको फेसलिफ्ट सन् २०१८ मा गरेको थियो । सुरुवाती मोडलदेखि नै स्वीफ्ट नेपालमा बिक्री हुँदै आएको मोडल हो । यसलाई नेपालमा सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ ।

हुन्डाईले आफ्नो चर्चित कार आई १० को उत्पादन बन्द गर्दै सन् २०१३ मा पहिलो पटक ग्राण्ड आई १० बजारमा ल्याएको थियो । यसको फेसलिफ्ट सन् २०१७ मा गरेको कम्पनीले २०२० मा यसको फेसलिफ्ट मोडल नल्याई ग्राण्ड आई १० नियोस बजारमा उतारेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा बिक्री वितरण गर्दै आएको ग्राण्ड आई १० नियोस केही दशैंअघि मात्रै नेपालमा सार्वजनिक भएको मोडल हो । मारुती सुजुकी स्वीफ्ट र ग्राण्ड आई १० दुबै मोडल नेपालमा सफल मोडलमा पर्छन् ।

इन्जिन

हुन्डाई ग्राण्ड आई १० र मारुती सुजुकी स्वीफ्ट दुबैमा समान १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । दुबै इन्जिनले समान ६००० आरपीएममा ८१.८ बीएच पावर प्रदान गर्छ भने टर्क पनि लगभग समान रहेको छ ।

माइलेजमा पनि समानता रहेको यी कारले सहरमा १४ किलोमिटर र हाइवेमा १८ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ । तर, कम्पनीको दाबी भने २१ किलोमिटर रहँदै आएको छ ।

साइज

साइजमा हुन्डाई नियोस ठूलो रहेको छ । स्वीफ्टको तुलनामा नियोस ३५ एमएम लम्बाई, ५५ एमएम चौडाई र १० एमएम उचाई बढी भएको कार हो । यी दुबै कारको ह्वीलवेस भने समान २४५० एमएम लामो रहेको छ । दुबैमा समान ३७ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

एक्सटेरियर

झट्ट हेर्दा ग्राण्ड आई १० नियोस बल्की देखिन्छ । अगाडी ठूलो ग्रिल र पछाडि थुप्रै क्रोम फिनिसिङको कारण नियोसको समग्र डिजाईन उत्कृष्ट रहेको छ । यसको हल्का टलह्याच डिजाइनले जो कोहीलाई लोभ्याउँछ ।

उता स्वीफ्ट पनि निकै आकर्षक डिजाइनमा तयार भएको कार हो । वास्तवमा नियोसभन्दा चौडाईमा कम भएरपनि होचो डिजाइनको कारण स्वीफ्टको रोड प्रेजेन्स फराकिलो देखिन्छ । यो स्पोर्टस कार थेममा तयार भएको मोडल हो ।

इन्टेरियर

ग्राण्ड आई १० नियोसमा सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रोट्री एसी भेन्ट र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले क्याविनलाई निकै प्रिमियम देखाएको छ । यसको क्याविन स्वीफ्टको तुलनामा उज्यालो रहेको छ । यसको स्टेरिङमा भ्वाइस कन्ट्रोल बटम दिइएको छ ।

उता व्ल्याक कलर थेम र इन्ट्रुमेन्ट क्लष्टरको कम्बीनेसनले स्वीफ्टलाई स्पोर्टी देखाएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । फ्ल्याट बटम स्टेरिङ, स्टेरिङ माउन्ट भ्वाइस कन्ट्रोल सिस्टम स्वीफ्टमा पाउन सकिन्छ ।

मूल्य

नेपालमा मारुती सुजुकी स्वीफ्ट २ भेरियन्टमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले भिएक्सआई र जेडएक्सआई भेरियन्टमा बिक्री गर्दै आएको छ । भिएक्सआई भेरियन्टको मूल्य ३० लाख ९९ हजार र जेडएक्सआईको मूल्य ३३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

उता हुन्डाई ग्राण्ड आई १० नियोसको तीन भेरियन्टमा बिक्री हुँदै आएको छ । कम्पनीले मग्ना, मग्ना अटोमेटिक र स्पोट्ज भेरियन्टको बिक्री गर्दै आएको हो । नियोस मग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार र मग्ना अटोमेटिक र स्पोट्ज भेरियन्टको मूल्य समान ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

दशैं अफर र छुट

दशैं स्कीमको रुपमा हुन्डाईले ग्राण्ड आई १० नियोसको खरिदमा १ लाख २० हजार रुपैयाँ नगद छुट दिएको छ भने स्क्र्याच कार्ड पनि ग्राहकले पाउने छन् । उक्त स्क्र्याच कार्डमा २० हजारदेखि १ लाखसम्म ग्राहकले पाउन सक्ने छन् । यसरी हेर्दा कम्तीमा ग्राहकले १ लाख ४० हजारको नगद छुट भने पक्का पाउने छन् ।

स्वीफ्टमा कम्पनीले १ लाख ५० हजार नगद छुट दिने घोषणा गरेको छ । कम्पनीले साथमा १२ हजार रुपैयाँ मूल्य बराबरको एशोसरिज पनि प्रदान गर्ने जनाएको छ ।

यसका अलावा दुबै कम्पनीले एक वर्षको बीमा, एक आर्थिक वर्षको वार्षिक कर दिने घोषणा गरेका छन् ।

हुन्डाईले नियोस खरिद गर्ने स्वास्थ्यकर्मीहरुलाई २५ हजार बराबरको सर्भिस भौचर प्रदान गर्ने जनाएको छ । उक्त भौचरको प्रयोग ग्राहकले २ वर्ष भित्र गाडी सर्भिसिङ गर्न पाउने छन् ।

निष्कर्ष

दुबै गाडी उत्कृष्ट ह्याचव्याक कारमा पर्छन् । ग्राण्ड आई १० नियोस नयाँ मोडल हो भने स्वीफ्ट निरन्तर चल्दै आएको मोडल हो । ३० लाख रुपैयाँ खर्च गरेर किन्न सकिने उत्कृष्ट ह्याचव्याक कारमा दुबै मोडल पर्छन् ।

दुबै कम्पनीको सेल्स र सर्भिस नेटवर्क नेपालमा उत्कृष्ट रहेको छ । यस्तोमा तपाईलाई कुनै एक मोडल छान्नु पर्दा आफ्नो चाहना र झट्ट हेर्दा मन पर्ने डिजाइनले तान्न सक्छ ।


Back_to_top