काठमाडौं । एक वर्षअघि नेपालमा मोटरसाइकल बिक्रेता कम्पनीहरुले सहरी क्षेत्र र अर्धसहरी क्षेत्रमा रहेका खुल्ला पार्कमा मोटरसाइकल एक्सचेन्ज मेला लगाउने गरेका थिए । विशेषत यामाहा र टीभीएसको बीचमा यस्तो एक्सचेन्ज मेलामा प्रतिस्पर्धा नै हुँदै आएको थियो ।
पछि नेपालमा धेरै बिक्री हुने बजाज र होन्डा जस्ता कम्पनीले पनि आफ्नो शोरुमहरुमा एक्सचेन्ज मेला लगाउँदै आएका थिए । कोभिड १९ को संक्रमण फैलन थालेसँगै यस्ता मेलाहरु आयोजना गर्न स्थानिय प्रशासनले नै प्रतिवन्ध लगाएका छन् भने कम्पनीहरु शोरुमबाट नै मोटरसाइकल बिक्री गर्दै आएका छन् ।
‘अहिले बाहिर ठूला एक्सचेन्ज मेला लगाउन सक्ने अवस्था छैन । तर, शोरुममा नै मोटरसाइकल लिएर आउने ग्राहकले एक्सचेन्ज सुविधा भने पाउने छन्’, एक मोटरसाइकल बिक्रेता कम्पनीका मार्केटिङ म्यानेजरले भने ।
अहिले टीभीएस र यामाहाले एक्सचेन्ज बोनस उपलब्ध गराउँदै आएका छन् । ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल लिएर यामाहाको मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो मोटरसाइकलको मूल्याङ्कनमा थप १५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
त्यसैगरि टीभीएसले पुरानो मोटरसाइकल ल्याएर नयाँ मोटरसाइकल लिन चाहनेलाई थप १५ हजार रुपैयाँ बोनस दिने जनाएको छ भने स्कुटरसँग एक्सचेन्ज गर्नेलाई १२ हजार रुपैयाँ बोनस दिने बताएको छ ।
बजाजले मोटरसाइकल एक्सचेन्ज सुविधा उपलब्ध रहेको जानकारी दिएको छ । तर, कम्पनीले अन्य कम्पनीले जस्तो एक्सचेन्ज बोनस नदिने जनाएको छ । कम्पनीका अनुसार ग्राहकले आफ्नो मोटरसाइकलको उचित मूल्याङ्कन पाउने छन् तर, थप बोनस पाउने छैनन् ।
होन्डाले पनि एक्सचेन्ज सुविधा उपलब्ध दिने, ग्राहकलाई उचित मूल्याङ्कन दिने तर थप बोनस नदिने जनाएको छ । हिरोले पनि यस्तै नीति लिएर कम्पनी अघि बढेको जनाएको छ ।
सुजुकीले एक्सचेन्जमा आउने मोटरसाइकललाई उचित मूल्यङ्कनको साथमा थप १५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ ।

