अन्डर विलिङमा गाडी आयात ! एउटै गाडीमा ३८ लाख ३६ हजार राजस्व चोरी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट नेपालमा आधिकारीक बिक्रेता नियुक्त नभएका कम्पनीहरुले पनि गाडी आयातगर्दा अतिरिक्त ३० प्रतिशत रकम तिरेर गाडी आयात गर्न पाउने व्यवस्था गरेसँगै ठूला र विश्व प्रसिद्ध ब्राण्डका गाडीहरु यहि बाटो प्रयोग भएर आउन थालेको छ ।

एक पटक अनाधिकृत रुपमा आयात भएका गाडी नेपाल भित्रन दिने नीति लिएर सरकारले अतिरिक्त ३० प्रतिशत रकम तिरेर विना आधिकारीक बिक्रेता कम्पनीबाट गाडी मगाउन दिने बाटो खोलेको भएपनि यसको छिद्रलाई प्रयोग गर्दै पुनः धमाधम गाडी आयात सुरु भएको छ ।

केहि दिनअघि भन्सार यार्डमा आइपुगेको टेस्लाको मोडल ‘थ्रि’ कार नेपालमा किया निरो र हुन्डाई कोनाको भन्दा पनि कम मूल्य देखाएर प्रबेश गरेको छ । तर, यी गाडी अन्डर विलिङमा आएको हो वा होइन भन्ने विषयमा अहिल्यै टुङ्गोमा पुग्ने विषय नभएको भन्सार विभागको भनाई छ । यद्यपी टेस्लाको एउटा गाडी ४ दिनअघि भन्सार छुटेको देखिन्छ ।

हामीले भन्सारमा नयाँ टेस्लाको कार आएको छ भन्ने सुनेका छौं । त्यो अन्डर विलिङमा आएको हो वा होइन भन्ने विषयमा भन्सार छुटाउने प्रक्रिया अगाडि बढेपछि मात्रै अनुषन्धान हुने भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे बताउँछन् । तर, गाडी भन्सार छुटेर आइसकेको देखिन्छ ।

‘आर्थिक ऐनमा भएको व्यवस्था टेकेर टेस्लाका कारहरु नेपाल आएका छन्, ऐनले नै अतिरिक्त ३० प्रतिशत रकम तिरेर ल्याउन दिने भनेपछि त्यसलाई रोक्न सकिने विषय भएन’, घिमिरेले मेरोअटोसँग भने ।

साउथ चाइना एक्जीम लिमिटेडबाट नोभेम्बर ६ तारिखमा नेपालको लागि भन्दै ३ वटा टेस्ला कारको प्याकिङ लिष्ट जारी गरेको डकुमेन्टमा देखिन्छ । साउथ चाइनाले नेपालको अरेटी इन्टरनेशनल टंगाल काठमाडौंको नाममा विल नम्बर AR22920259R बाट तीनवटा टेस्ला कार पठाएको देखिन्छ ।

गाडीको मोटरमा नै झुटो विवरण पेश गरेर राजस्व छलि

चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्रि नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको विल पेश गरिएको छ । यसले यो गाडी अन्डर विलिङमा आएको देखिन्छ । अरेटी इन्टरनेशनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि झुक्काएर १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर ल्याएको छ ।

गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४५० रुपैयाँ देखाइएको छ भने भन्सार शुल्क वापत १६ लाख ६४ हजार रुपैयाँ तिरिएको छ ।

अल ह्वील ड्राइभ सिस्टम जडान भएको टेस्ला मोडल थ्रिमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जाडन भएकोले १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेको छ । तर, यसमा पछाडिको चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटर पनि दिइएको छ । अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।

यो क्षमताको मोटर प्रयोग भएको गाडीले ६० प्रतिशत अन्तःशुल्क तिर्नु पर्ने हुन्छ । कम्पनीले अहिले ८ लाख ७३ हजार ६९५ रुपैयाँ अन्तःशुल्क तिरेको देखिन्छ । जबकी उसले ६० प्रतिशत अन्तःशुल्क वापत ३४ लाख ९४ हजार ७७८ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसरी हेर्दा कम्पनीले अन्तःशुल्कमा २६ लाख २१ हजार ८३ रुपैयाँ छलिगरेको देखिन्छ ।

अन्तःशुल्क पछि यसरी आधिकारीक वितरक नभई आएको गाडीमा ३० प्रतिशत अतिरिक्त शुल्क लाग्छ । उक्त शुल्क वापत कम्पनीले १२ लाख ४८ हजार १३५ रुपैयाँ तिरेको देखिन्छ ।

भन्सार, अन्तशुल्क, अतिरिक्त शुल्क, भ्याट र सडक निर्माण दस्तुर वापत कम्पनीले कुल रकम ५० लाख ३५ हजार २४९ रुपैयाँ तिरेको देखिन्छ । यसरी मोटर क्षमता लुकाएर कम्पनीले एउटा गाडीमा ३८ लाख ३६ हजार २८३ रुपैयाँ राजस्व चोरी गरेको हो ।


Back_to_top