काठमाडौं । नेपाली बजारमा सबैभन्दा महंगो मोटरसाइकल विक्री गर्ने कम्पनी एमभी अगष्टा हो भने सबैभन्दा सस्तो मोटरसाइकल विक्री गर्ने कम्पनी रनर हो ।
यी कम्पनी नेपालमा सफल ब्रान्ड भने होइनन् । नेपाली बजारमा भारतीय वा भारतीय लगानी सहितको जापानी र युरोपियन उत्पादनको बोलवाला रहेको छ ।
यस्तोमा नेपाली बजारमा सफलता हासिल गरेका ब्रान्डले विक्री गर्ने सबैभन्दा महंगो मोटरसाइकलको मूल्य ३४ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । तर, त्यो मह.गो मोडल भारतमा भने उत्पादन भएको होइन ।
नेपाली बजारमा सफल रहेको मोटरसाइकल ब्रान्डमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो र सुजुकी हुन् भने रोयल इन्फिल्ड पनि सफल मानिन्छ ।
हिरोले सस्तो मोटरसइकल धेरै भेरियन्टमा विक्री गर्छ भने होन्डासँग महंगो मोटरसाइकल रहेको छ ।
बजाज, यामाहा, टीभीएससँग मिड रेन्जका मोटरसाइकल धेरै भेरियन्टमा रहेको छ । होन्डाले विक्री गर्दै आएको सीबीआर ६०० को मूल्य ३४ लाख ५० हजार रहेको छ त्यो जापानबाटै आयात हुन्छ ।
त्यस्तै टीभीएसले ७ लाख ७९ हजार ९०० रुपैयाँको मोटरसाइकल विक्री गरिरहेको छ । टीभीएसले ३१० सीसी क्षमताको ‘आरआर ३१०’ उक्त मूल्यमा विक्री गरिरहेको छ ।
त्यस्तै बजाजले विक्री गर्ने सबैभन्दा महंगो मोटरसाइकल डोमिनार ४०० रहेको छ । यसको मूल्य ५ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरि सुजुकीले विक्री गर्ने जिक्सर २५० एसएफको मूल्य ५ लाख १ हजार रुपैयाँ रहेको छ ।
हिरोले विक्री गर्ने एक्सपल्स २०० को मूल्य ३ लाख ८८ हजार रुपैयाँ रहेको छ । त्यस्तै यामाहाले विक्री गर्ने एक्सटीजी १५० को मूल्य ४ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।
रोयल इन्फिल्डको सफल मोडल क्लासिक ३५० हो । तर, कम्पनीले बिक्री गर्ने सबैभन्दा महंगो मोडल इन्टरसेप्टर ६५० हो । यसको मूल्य १२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

