काठमाडौं । स्टील र प्लाष्टिक जन्य बस्तुको मूल्य वृद्धिसँगै मोटरसाइकलको पनि मूल्य बढ्ने भएको छ । उसोत लकडाउन पछि मोटरसाइकल विक्रेता कम्पनीहरुले ३ पटकसम्म मूल्य बढाई सकेका छन् ।
विशेषत यामाहा, बजाज, टीभीएस, हिरो र सुजुकीले मोटरसाइकलको मूल्य बढाइरहेका छन् । यसबीचमा प्रति मोटरसाइकल मोडल अनुसार ३ हजारदेखि ३० हजारसम्म मूल्य वृद्धि भएको छ ।
त्यसोत नेपालमा मोटरसाइकल उत्पादन हुँदैन । बजाजले एसेम्बलिङ प्लान्ट चलाई रहेको छ भने, टीभीएसको एसेम्वलिङ प्लान्टमा परिक्षण उत्पादन भइरहेको छ । यस्तोमा भारतमा नै कम्पनीहरुले यसबीचमा ३ देखि ४ पटकसम्म मूल्य बढेकाले नेपालमा पनि मोटरसाइकलको मूल्य बढाउनु परेको विक्रेता कम्पनीहरुको भनाई रहेको छ ।
भारतमा कम्पनीहरुले पुनः मूल्य बढाउन सुरु गरेका छन् । बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी जस्ता कम्पनीले जनवरी १ तारिखदेखि आफ्ना उत्पादनको मूल्य बढ्ने जानकारी दिइसकेका छन् ।
अहिले भारतमा नै कम्पनीहरुले १ हजारदेखि ३ हजार भारुसम्म मूल्य बढाएका छन् । यस्तोमा नेपाली बजारमा पनि मोटरसाइकलको मूल्य वृद्धि हुने आशंका गरिएको छ ।
नेपाली बजारमा यसको असर कति र कस्तो पर्छ भन्ने हाम्रो जिज्ञासामा मोटरसाइकल विक्रेता कम्पनीहरु भन्छन्, ‘हामीले आयात गर्ने हो । भारतमा बढी मूल्य तिरेर ल्याउनु पर्ने भएपछि यहाँ पनि महंगो हुन्छ नै ।’ यसको मतलव नेपालमा पनि मोटरसाइकलको मूल्य वृद्धि हुने छ ।
भारतमा बजाजले आजैबाट लागुहुनेगरि आफ्ना सबै मोडलको मूल्य वृद्धि गरेको कम्पनीले मोडल अनुसार १ हजारदेखि १ हजार ५०० भारतीय रुपैयाँसम्मले मूल्य बढाएको छ ।

