काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले दुई नयाँ एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन भएको हेक्टर र चीनमा उत्पादन भएको एचएस नेपाल ल्याउने प्रक्रिया सुरु गरेको हो ।
कम्पनीले भारतमा उत्पादन भएको मोडल पहिलो पटक नेपाल ल्याउन लागेको हो । यी दुई नयाँ एसयूभी नेपाल आएसँग एमजीसँग ४ नयाँ एसयूभी लाइनअप तयार हुने छ । साथै, कम्पनीले विक्री गर्दै आएको इलेक्ट्रीक एसयूभी इजेडएस पनि रहेको छ ।
एमजीले भारतमा उत्पादन भएको हेक्टरको साथै, जेडएस, जिएस र एचएस मोडल विक्री गर्ने छ । वेलायती रेसिङ कार निर्माता कम्पनी मोरिस ग्यारेज (एमजी) चीनको एसएआईसी गुपले खरिद गरेपछि यसको उत्पादन निकै आक्रमक रुपमा भइरहेको छ । भारतमा पनि कम्पनीले ठूलो लगानी सहित आफ्नो उत्पादन सुरु गरेको करिब २ वर्ष भइसकेको छ ।

एमजी हेक्टर १.५ लिटर पेट्रोल र २.० लिटर डिजल इन्जिन अप्सनमा भारतमा उपलब्ध रहेको छ । नेपालमा दुई इन्जिन अप्सन वा एउटा मात्र आउने छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम १४१ बीएच पावर र २५० एनएम टर्क प्रलान गर्छ भने डिजेल इन्जिनले १६७ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्छ ।
कम्पनीले ल्याउने अर्को नयाँ एसयूभी एचएसमा पनि दुई इन्जिन अप्सन उपलब्ध रहेको छ । तर, नेपाल भने १.५ लिटर टर्बो इन्जिन आउने कम्पनीले जानकारी दिएको छ ।

एमजी एचएसमा रहेको १.५ लिटर टर्बो चार्ज्ड ४ सिलिण्डर इन्जिनले १६२ बीएच पावर र २५० एनएम टर्क उत्पादन गर्छ । यो एसयूभीमा सिक्स स्पीड अटोमेटिक गियरबक्स रहेको छ ।
दुबै एसयूभी निकै आधुनिक फिचरले भरिएका छन् । यी एसयूभीको मूल्यमा पनि खासै धेरै फरक नपर्ने अनुमान गर्न सकिन्छ । कम्पनीले यी एसयूभीको सुरुवाती मूल्य ६० लाखदेखि टप स्पेकको मूल्य ७५ लाखको बीचमा कायम गरेर विक्री वितरण गर्ने अनुमान गर्न सकिन्छ ।

