काठमाडौं । पछिल्लो समय नेपाली बजारमा प्रिमियम मोटरसाइकल ब्रान्ड भित्रने क्रम बढ्दो रहेको छ । तर, प्रिमियम मोटरसाइकलको विक्री भने निरासजनक रहेको छ ।
पछिल्लो एक बर्षमा नेपाल आयात भएको डाटालाई आधार मानेर हेर्दा नेपालमा विक्री हुने प्रिमियम ब्रान्डको मोटरसाइकल आयात उत्साहजनक नरहेको देखाउँछ । नेपालमा विक्री हुने महंगा मोटरसाइकल ब्रान्ड हार्ले, डुकाटी र एमभी अगष्टाले न्यून मात्रामा मोटरसाइकल आयात गरेका छन् । यी तीन कम्पनीले मात्र १६ यूनिट मोटरसाइकल नेपाल भित्र्याएका हुन् ।

नेपालमा जनवरी २०२० देखि १५ डिसेम्वर २०२०को आयात डाटालाई हेर्दा हार्लेको मोटरसाइकल १० यूनिट नेपाल आएको छ । त्यस्तै डुकाडी २ यूनिट र एमभी अगष्टाको ४ यूनिट मोटरसाइकल नेपाल आएको देखिन्छ ।

यस्तै अर्को प्रिमियम मोटरसाइकल ब्रान्ड बिएमडब्ल्युले झण्डै एक वर्षको अवधिमा ६५ यूनिट मोटरसाइकल नेपाल ल्याएको देखिन्छ । हार्ले, डुकटी र एमभी अगष्टाको तुलनामा बिएमडब्ल्युको मूल्य कम रहेको छ । नेपाली बजारमा बिएमडब्ल्युले ३१० सीसी सेग्मेन्टको दुई मोटरसाइकल विक्री गर्दै आएको छ ।

बिएमडब्ल्युले नेपाली बजारमा १० लाख रुपैयाँका मोटरसाइकल विक्री गर्दै आएको छ भने डुकाटी हार्ले र एमभी अगष्टाले २३ लाखदेखि १ करोड ४३ लाख मूल्यसम्मका मोटरसाइकल विक्री गर्दै आएका छन् ।
यो डाटालाई हेर्दा नेपाली बजारमा प्रिमियम ब्राण्ड ल्याउने बढेपनि त्यसको विक्री भने अत्यन्त न्यून रहेको देखाएको छ ।

