काठमाडौं । विश्वमै सर्वाधिक सस्तो विद्युतीय कारकाे रुपमा चर्चामा रहेको ग्रेटवाल मोटर्सको ओरा १ नेपाल आउने बाटो खुलेको छ । नेपालमा ग्रेटवालको डिलर नियुक्त भएसँगै यसलाई आयात गर्ने बाटो खुलेको हो ।
ग्रेटवालका पछिल्ला उत्पादन नेपाल ल्याउन विशाल ग्रुप डिष्ट्रीव्यूटर नियुक्त भएको छ । यद्यपी यसको विषयमा ग्रेटवालले नेपालको आधिकारीक वितरक/डिष्ट्रीब्यूटरको नाम आफ्नो वेभसाइटमा भने राखेको छैन ।
योसँगै संसारकै सस्तो भनेर चर्चा गरिएको विद्युतीय कार ओरा १ नेपाल आउने बाटो खुलेको हो । चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबरमा किन्न सकिने यो कार नेपाल आउने हो भने यसले ग्राहक आकर्षित गर्न सक्ने धेरैको अनुमान रहेको छ ।

ओरा आर १ मा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाट कै इलेक्ट्रीक मोटर जडान गरिएको छ । प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने क्षमता रहेको यो कारले फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने दाबी कम्पनीले गर्दै आएको छ ।
ग्रेटवाल मोटर्सले ओरा आर १ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने, कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

३३ किलोवाटको मोटरले अधिकतम ४७ हर्स पावर प्रदान गर्ने कम्पनीको वेभसाइटमा उल्लेख गरिएको छ । युवापुस्ता र सहरी क्षेत्रलाई ध्यानमा राखेर उत्पादन गरिएको यो कारमा आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गरिएको छ ।
अन्य स्ट्यान्डर्ड फिचरको रुपमा ब्लुटुथ की, भेहिकल मोबाइल फोन कनेक्सन सिष्टम र हिल स्टार्ट असिष्ट सिष्टम जस्ता प्रिमियम फिचर उपलब्ध रहेको छ ।
यसको टप भेरिएन्टमा डेटाइम रनिङ लाइट, इलेक्ट्रिकल पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ६ एयरब्याग र स्मार्ट फ्रन्ट भ्यु सिस्टम उपलब्ध रहेको छ ।

