फेब्रुअरी १५ बाट विक्री सुरु हुँदै ‘रेनो काइगर’

काठमाडौं । रेनोले भारतमा उत्पादन गरेको काइगर सब फोर मिटर एसयूभी फेब्रुअरी १५ बाट भारतमा विक्री सुरु हुने भएको छ । त्यसको तयारी स्वरुप विभिन्न डिलर नेटवर्कमा काइगर पुगिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कम्पनीले रेनो काइगरको जनवरी २८ मा ग्लोवल प्रिमियर गरेको थियो । विशेषत युवा पुस्तालाई ध्यानमा राखेर सार्वजनिक भएको काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।

छतमा दिइएको स्पोइलर र सार्क फिन एन्टेना काइगरलाई स्पोर्टी देखाउन निकै सहयोगी भएको देखिन्छ । कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।

विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा ल्याएको छ ।

बजारमा सब फोर मिटर सेग्मेन्टमा उपलब्ध हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, एक्सयूभी ३०० र निसान म्याग्नाइटसँग यसको सिधा प्रतिस्पर्धा हुने छ ।

रेनोको पहिलो सब फोर मिटर एसयूभी काइगर नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइलले अप्रिल महिनासम्ममा नेपाल ल्याउने संभावना भएको एसयूभी हो ।


Back_to_top