काठमाडौं । पल्सर एनएस २०० सेग्मेन्टमा नै सर्वाधिक धेरै विक्री हुने मोटरसाइकल हो । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा विक्री गर्दै आएको पल्सर एनएस २०० उच्च पावर र आकर्षक डिजाइनको कारण चर्चामा रहेको मोडल हो । यस्तोमा यसलाई सिधा टक्कर दिन बेनेलीले नयाँ मोटरसाइकल ‘बेनेली १८० एस’ नेपाल ल्याएको छ ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज र इटालीयन कम्पनी बेनेली बीचको प्रतिस्पर्धा निकै राम्रो हुने देखिन्छ । यद्यपी यी दुई मोटरसाइकलमा ब्राण्ड, मूल्य, पावर र नेपाली ग्राहकको विश्वास भने बजाज पल्सर एनएस २०० मा बढी रहेको छ ।
लामो समयदेखि नेपालमा एकछत्र राज गर्न सफल पल्सर एनएस २०० र नयाँ बेनेली १८० एसमा पाउन सकिने फरक विषेशतालाई हामीले यहाँ उल्लेख गरेका छौं ।
पल्सर एनएस २०० मा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।
बेनेलीले ल्याएको १८० एस मोडलमा १७५.३ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा १७.८ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि ६ स्पीड गियरबक्स नै उपलब्ध रहेको छ । यी दुई मध्ये पल्सर एनएस धेरै पावरफुल रहेको छ ।
बेनेली १८० एसमा कम्पनीले प्रिमियम फिचर समावेश गरेको छ । यसमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर, लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । त्यसैगरी यसमा डबल डिस्क ब्रेक र वेट क्लच प्लेट र १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
पल्सर एनएस २०० मा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । मोटरसाइकलमा एक्जुलरि लाइट, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता समेटिएको छ ।
बजाज पल्सर एनएस २०० को अगाडि ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टी फ्रिक्शन बुस र पछाडिमा निट्रोक्स मनोशक एब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ ।
बेनेली १८० एसमा अगाडि अप साइड डाउन फर्क र पछाडि मोनो शक सस्पेन्सन दिइएको छ । बजाजले एबीएस फिचरसहित एनएस २०० विक्री गरिरहेको भएपनि बेनेलीले यसमा एबीएस दिएको छैन ।
बेनेली १८० एस विभिन्न ४ कलर भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसको मूल्यपनि कलर अनुसार फरक राखेको छ । जसमा सेतो, कालो र रातो कलरको मूल्य समान ४ लाख ३० हजार रुपैयाँ र नियोन कलरको मूल्य ४ लाख ४० हजार रुपैयाँ निर्धारण गरेको छ ।
बजाजले पल्सर एनएस २०० लाई दुई फरक भेरियन्टमा विक्री गर्दै आएको छ । कम्पनीले एफआई/एबीएस र काब्रुरेटर एबीएस भेरियन्टको विक्री गरिरहेको हो । एनएस २०० एबीएस भर्सनको मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ र एफआई/एबीएस भेरियन्टको ३ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।


