काठमाडौं । चिनियाँ ब्राण्डका कार तथा मोटरसाइकल नेपाल आउने क्रम बढ्दो रहेको छ । कुनै समय नेपालमा धेरै चिनियाँ ब्राण्डका कारहरु नेपाल आउन सुरु गरेका थिए । तर, ग्राहकबाट राम्रो प्रतिक्रिया नपाएसँगै उनिहरुको विक्री वितरण रोकिएको थियो ।
यसअघि चेरी, गिली, ग्रेटवाल, जोत्येलगायतका कार ब्राण्ड नेपाल आएर केहि वर्षपछि नै फिर्ता भएका थिए । तर, समय क्रमसँगै पुन चिनियाँ ब्राण्डका गाडीहरु नेपाल आउन थालेका छन् ।
चिनियाँ कम्पनीहरुले विश्वका प्रसिद्ध र बैंकरप्सीमा परेका ब्राण्डहरु खरिद गरेर गाडी बनाउन थालेसँगै त्यस्ता ब्राण्डका कार नेपाल आउन थालेका हुन् । वेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी), जर्मन ब्राण्ड बगुवार्ड, चिनियाँ ब्राण्ड डिएफएसके, चिनियाँ ब्राण्ड ग्रेटवाल जस्ता कम्पनीले नेपालमा चीन, भारत र इन्डोनेशियामा उत्पादन भएका कार तथा एसयूभी नेपालमा ल्याएर विक्री वितरण गर्दै आएको छ ।

हाइटेक प्रविधि र कम मूल्य
चिनियाँ उत्पादकले बजारमा ल्याएका एसयूभीहरु हाइटेक प्रविधिले भरिपूर्ण हुने भएकाले ग्राहकले कम मूल्यमा फिचर प्याक गाडी पाउने भएका छन् । पछिल्ला वर्षमा चिनियाँ कम्पनीहरुले प्रविधिमा निकै ठूलो उपलब्धी हासिल गरेको छ । त्यसको सबैभन्दा ठूलो परिणाम अटोमोवाइलमा पनि परेको छ ।

विश्वको सबैभन्दा धेरै कार विक्री हुने देश भएकाले पनि चीनले कार उत्पादनमा जोड दिदै आएको छ । उसले विभिन्न देशमा टाट उल्टेका र विक्रीमा रहेका कार उत्पादक कम्पनी खरिद गरिनै रहेको छ । त्यसैले पनि चिनियाँ उत्पादन निकै आरामदायी र आकर्षक रहेको छ ।
नेपालमा चार कम्पनीको प्रतिस्पर्धा
अब चिनियाँ उत्पादनको रुपमा एमजी, बगुवार्ड, डिएफएसके र ग्रेटवालको बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वेलायती ब्राण्ड एमजीले चीनमा उत्पादन भएका एसयूभी नेपाल ल्याएर विक्री वितरण गर्दै आएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कार इजेडएस नेपालमा निकै सफल भएको छ । जेडएस, जीएस जस्ता पेट्रोल एसयूभी विक्री गर्दै आएको एमजीले अब नयाँ एचएस एसयूभी पनि नेपाल आउने भएको छ । नेपालको लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्सले भारतमा उत्पादन भएका एसयूभी पनि नेपाल ल्याउने तयारी गरिरहेको छ ।

चिनियाँ ब्राण्ड डिएफएसकेले इन्डोनेशियामा उत्पादन भएका एसयूभी नेपाल ल्याएर विक्री वितरण गर्दै आएको छ । कम्पनीले ग्लोरी सिरिजको ५६० र ५८० नेपालमा विक्री गर्दै आएको छ भने नयाँ ग्लोरी आई–अटो नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । कुजु नेपालले ल्याएको डिएफएसकेका एसयूभी राम्रै संख्यामा विक्री वितरण हुँदै आएको छ ।
जर्मन ब्राण्ड बगुवार्डको एसयूभी बिएक्स ५ पनि नेपाल आइसकेको छ । डिएसम ग्लोवलले नेपाल ल्याएको बगुवार्डका एसयूभी विक्री गर्न कम्पनीले बालाजुमा शोरुम निर्माण गरिरहेको छ । कम्पनीले नेपाल ल्याएको बिएक्स ५ को मूल्य करिब १ करोड रुपैयाँ रहेको छ ।

चिनियाँ ब्राण्ड ग्रेटवाल र हेवल ब्राण्डका एसयूभी नेपाल आउने पक्का भइसकेको छ । कम्पनीले नेपालमा भिजी इम्पेक्सलाई आधिकारीक विक्रेता नियुक्त गरेर उक्त ब्राण्डका गाडी नेपाल ल्याउने भएको हो । यी ब्राण्डका गाडी २०२१ को मध्यसम्ममा नेपाल आउने छन् ।


