काठमाडौं । सन् २०२० मा मोटरसाइकलमा धेरै नयाँ मोडल आउन नसकेपनि २०२१ मा भने थुप्रै नयाँ मोडल बजारमा आउने भएको छ । विशेषत भारतमा प्लान्ट स्थापना गरेर मोटरसाइकल उत्पादन गर्दै आएका जापानी ब्राण्ड यामाहा, होन्डा, सुजुकी र केहि यूरोपेली ब्राण्डले पनि नयाँ मोटरसाइकल ल्याउने भएका छन् ।
साथै, भारतीय ब्राण्ड बजाज, टीभीएस, रोयल इन्फिल्ड, हिरो लगायतका ठूला मोटरसाइकल उत्पादक कम्पनीले पनि नयाँ मोटरसाइकल बजारमा उतार्ने तयारी गरेका छन् ।
भारतमा उत्पादन भएका अधिकांश मोडल नेपाल आउने हुँदा यी मोटरसाइकलमा नेपाली उपभोक्ताको पनि चासो र रुची रहने गरेको पाइन्छ । यस्तोमा हामीले सन् २०२१ मा बजारमा आउन लागेका मुख्य कम्पनीका केहि मोडलको विषयमा यहाँ उल्लेख गरेका छौं ।
नयाँ जेनेरेशन रोयल इन्फिल्ड क्लासिक ३५०

रोयल इन्फिल्डले आफ्नो क्लासिक मोटरसाइकल क्लासिक ३५० को नयाँ जेनेरेशन मोडल ल्याउने भएको छ । भारतका विभिन्न स्थानमा परिक्षणको क्रममा देखिएको नयाँ क्लासिक ३५० लाई कम्पनीले मेटोरको प्ल्याटफर्ममा उत्पादन गरिरहेको छ । कम्पनीले यसको इन्जिनमा ठूलो परिवर्तन गर्न लागेको अनुमान गरिएको छ । यसअघि पुसोडोर वाल सिस्टमा आउने गरेको क्लासिक ३५० को नयाँ मोडल एसओएचसीमा आधारित रहने छ । उक्त इन्जिनले २०.२ बीएच पावर प्रदान गर्ने छ ।
साथै, रोयल इन्फिल्डले नयाँ ६५० सीसीको क्रुजर मोटरसाइकल पनि सन् २०२१ मा नै बजारमा ल्याउने छ ।
टीभीएस रोनीन्

टीभीएसको पहिलो क्रुजर मोटरसाइकल रोनीन् सन् २०२१ मा बजारमा आउने अर्को प्रतिक्षित मोडल हो । टीभीएसले जेप्लीन कन्सेप्टमा आधारित भएर ल्याउन लागेको नयाँ मोटरसाइकलमा अपाचे आरआर ३१० मा रहेको इन्जिन उपलब्ध रहने छ ।
बजाज पल्सर २५०
बजाजले पल्सर सिरिजमा नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । पल्सर सिरिजकै सबैभन्दा पावरफुल इन्जिन सहित बजारमा आउने पल्सर २५० मा डोमिनार २५० मा प्रयोग भएको इन्जिन उपलब्ध रहने अनुमान गरिएको छ ।

केहि दिनअघि मात्रै पल्सर १८० को नेकेड भर्सन बजारमा ल्याएको बजाजले सन् २०२१ को अन्त्यसम्ममा नयाँ पल्सर २५० बजारमा ल्याउने अनुमान गरिएको छ ।
होन्डा सिबी ५०० एक्स
केहि दिनअघि भारतमा सिबी ३५० आरएस सार्वजनिक गरेको होन्डाले नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अप्रिलमा ल्याउने अनुमान गरिएको छ । यस मोटरसाइकलमा ४७१ सीसी क्षमताको पावरफुल इन्जिन उपलब्ध रहने छ । यसमा दिइने इन्जिनले अधिकतम ४७.५ पीएस पावर र ४३ एनएम टर्क प्रदान गर्नेछ ।

यस मोटरसाइकलको अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील उपलब्ध रहने अनुमान गरिएको छ । दुबै चक्कामा डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस, ब्लक प्यार्टन टायर जस्ता फिचर यसमा उपलब्ध रहने छ ।
यामाहा एफजेड एक्स

यामाहाको चर्चित मोटरसाइकल सिरिज एफजेडको एड्भेन्चर सिरिज ल्याउने भएको छ । यो मोटरसाइकल २५० सीसी क्षमताको इन्जिन सहित बजारमा आउने छ । यसमा रहेको इन्जिनले २०.८ पीएस पावर र २०.१ एनएम टर्क प्रदान गर्नेछ ।


