काठमाडौं । बजाजले पहिलो पटक २५० सीसी क्षमतामा डोमिनार २५० नेपाल ल्याएको छ भने यमाहाले एफजेड २५ नेपालमा विक्री गर्दै आएको छ ।
२५० सीसी क्षमताको मोटरसाइकल खोज्ने ग्राहकलाई यी दुई मोटरसाइकलमा कुन राम्रो छ भन्ने दुविधा हुन सक्छ । यस्तो अवस्थामा मोटरसाइकल किन्न चाहनेलाई सहज होस् भनेर हामीले यी दुई मोडलमा रहेका तुलनात्मक भिन्नतालाई यहाँ केलाउने प्रयास गरेका छौं ।
यी दुबै मोटरसाइकल नेपालमा बीएस ४ इन्जिनमा उपलब्ध रहेका छन् । यामाहा एफजेड २५ मा २४९ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ भने बजाज डोमिनार २५० मा २४८.८ सीसी क्षमताको इन्जिन दिइएको छ ।
समान क्षमताको इन्जिन भएपनि पावरमा बजाज डोमिनार अगाडि रहेको छ । डोमिनारमा रहेको इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर जेनेरेट गर्छ भने एफजेडको इन्जिनले ८००० आरपीएममा २०.८ पीएस पावर प्रदान गर्छ ।
बजाजले डोमिनारमा लिक्वीड कुल्ड इन्जिनको प्रयोग गरेको छ । यामाहाले एफजेडमा एयर कुल्ड इन्जिन दिएको छ । दुबै मोटरसाइकलमा वेट मल्टीपल डिस्क ब्रेक उपलब्ध रहेको छ । यामाहा एफजेड २५ मा ५ स्पीड र बजाज डोमिनारमा ६ स्पीड गियरबक्स रहेको छ ।

यामाहा एफजेडमा १४ लिटर क्षमताको फ्यूल ट्याङ्क उपलब्ध रहेको छ भने डोमिनारमा १३ लिटर क्षमताको छ । फुल ट्याङ्क इन्धनमा एफजेड ५१८ किलोमिटर गुडाउन सकिन्छ भने डोमिनार ४५५ किलोमिटर गुडाउन सकिन्छ ।
डोमिनारमा अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ । डोमिनारको भन्दा केहि सानो अगाडि २८२ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक एफजेडमा पाउन सकिन्छ । यामाहा एफजेड र बजाज डोमिनार दुबैमा एबीएस फिचर पाउन सकिन्छ ।
दुबै मोटरसाइकलको अगाडि र पछाडि १७ इनचको अलोय ह्वील पाउन सकिन्छ । यामाहाले एफजेड २५ मा अगाडि टेलिस्कोपिक फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन दिएको छ । डोमिनार २५० मा भने अगाडि ३७ एमएमको यूएसडी फर्क र पछाडि मल्टी स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ ।
लम्बाई, चौडाई र उताइमा एफजेड २५ को तुलनामा डोमिनार २५० ठूलो रहेको छ । तर, ग्राउन्ड क्लियरेन्स भने एफजेड २५मा ३ एमएम बढी अगलो छ । एफजेडमा १६० एमएम र डोमिनारमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
दुबै मोटरसाइकलमा एलइडी डेटाइम रनिङ लाइट, डबल च्यानल एबीएस, डिजिटल स्पीडो मिटर, टेकोमिटर र ट्रीप मिटर उपलब्ध रहेको छ । स्टेप सिट, स्ट्यान्ड आर्लम, इलेक्ट्रीक स्टार्ट, सिफ्ट लाइट, किल स्वीच जस्ता फिचर पाउन सकिन्छ । दुबै मोटरसाइकलमा उलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, पास लाइट पाउन सकिन्छ ।

मूल्य
बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० को मूल्य ४ लाख ९२ हजार ९०० रुपैयाँ राखेर विक्री गर्दै आएको छ ।
यामाहाको आधिकारीक विक्रेता मोरङ अटोवर्कले एफजेड २५ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । यामाहा एफजेड २५ डोमिनारको तुलनामा ५० हजार रुपैयाँ सस्तो रहेको छ ।
निष्कर्ष
यामाहा एफजेड २५ नेकेड मोडल मोटरसाइलक हो । यो मोटरसाइकल छोटो दुरि यात्रा तथा सहरी क्षेत्रको लागि उत्कृष्ट मानिन्छ । तर, ५ स्पीड गियरबक्सले डोमिनारको अगाडि केही फिक्का लाग्छ ।
बजाज डोमिनार एक क्रुजर मोटरसाइकल रहेको छ तर पनि यसको डिजाइनका कारण यो नेकेड स्पोर्टस मोडल जस्तो देखिन्छ । उच्च पावर, लामो यात्राको लागि उत्कृष्ट र उपयोगी फिचरको लागि डोमिनार सहि छनोट हुन सक्छ ।

