हुन्डाईको नयाँ एसयूभी ‘अल्काजार’ जुनमा सार्वजनिक हुने

काठमाडौं । हुन्डाईले आफ्नो ७ सिट क्षमताको अल्काजार एसयूभी आगामी जुनबाट भारतमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले अल्काजारलाई क्रेटाको ७ सिटर अप्सनको रुपमा बजारमा ल्याउन लागेको हो ।

हुन्डाईले भारतमा उत्पादन गर्ने यो एसयूभीको टिजर सार्वजनिक गरेर यसको प्रडक्सन मोडल तयार भएको जानकारी दिएको हो । अटोकार इन्डियाले यसको इन्टेरियर पनि सार्वजनिक गर्दै अल्कारजार तयार भएको उल्लेख गरेको छ ।

विभिन्न समयमा यसको भारतमा परिक्षण भएका तस्विरहरु बाहिर आएका थिए । कम्पनीले थ्रि रो एसयूभीका रुपमा यसलाई क्रेटाको प्ल्याटफर्ममा तयार गरेको हो । यसमा ६ र ७ सिट क्षमताका दुई फरक भेरियन्ट ग्राहकले किन्न पाउने छन् ।

अल्काजारमा फरक नयाँ फ्रन्ट ग्रिल, फरक अलोय ह्वील र नयाँ लाइट सेटअप पाउने अपेक्षा गरिएको छ । यसमा रहने इन्जिनको विषयमा कम्पनीले अहिलेसम्म कुनै अधिकारीक जानकारी दिएको छैन । तर, टाटा सफारी र एमजी हेक्टर प्लस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले यसमा २.० लिटर क्षमताको इन्जिन रहन सक्ने जनाइएको छ । यसमा हुन्डाईले स्मार्टसेन्स फिचरसमेत दिने अनुमान गरिएको छ ।

स्मार्टसेन्स फिचर अन्तर्गत सुरक्षाको लागि अटोमेटिक ब्रेकिङ सिस्टम, ब्लाइन्ड स्पोट कोलिसन ओभिडेन्स एसिस्ट, ड्राइभर एटेन्सन वार्निङ, क्रस ट्राफिक वार्निङ, स्मार्ट क्रुज कन्ट्रोल, हाइवे ड्राइभिङ एसिस्ट, लेन डिपार्चर जस्ता फिचर यसमा उपलब्ध हुने अनुमान गरिएको छ ।


Back_to_top