काठमाडौं । कोभिड १९ को संक्रमणपछि भारतमा भएको कारको उच्च मागले नेपालमा नयाँ मोडलको गाडी आउनै मुस्किल देखिएको छ । विशेषत भारतमा उच्च माग भएका गाडी नेपाल आउन सकिरहेको छैन ।
मुख्यत महिन्द्रा, हुन्डाई, टाटा जस्ता ब्राण्डले नेपालको लागि नयाँ मोडलका कार माग अनुसार दिन नसक्दा नेपालमा नयाँ मोडल भारतमा सार्वजनिक भएको ५/७ महिनासम्ममा पनि आउन सकेको छैन ।
महिन्द्राको चर्चित अफरोड एसयूभी थार कार्तिकमा नै नेपाल ल्याउने तयारी आधिकारीक वितरक अग्नी इनकर्पोरेटले गरेको भएपनि अझै नेपाल आउने मिति टुङ्गो लागेको छैन । अग्नी स्रोतको अनुसार नयाँ थार सुरुमा कम्तिमा पनि ५० यूनिट आफुहरुले मागेको तर, कम्पनीले त्यो भोलुम दिन नसकेकै कारण थार नेपाल आउन सकेको छैन ।
यस्तै समस्या हुन्डाई आई २० मा पनि देखिएको छ । कम्पनीले जनवरी अन्तिम वा फेब्रअरी पहिलो सातासम्म नयाँ जेनेरेशन आई २० नेपाल ल्याउने तयारी गरेको थियो । तर, माग अनुसारको कार नपाउने भएपछि त्यसलाई तत्काल बजारमा उतार्ने योजनाबाट कम्पनी केहि समयको लागि पछाडि हटेको छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अनुसार आफ्नो माग अनुसारको संख्यामा गाडी नपाएसम्म बजारमा नल्याउने योजना कम्पनीले बनाएको छ ।
टाटाको चर्चित नेक्सन इभी पनि नेपाल आउन सकेको छैन । एक वर्षअघि नै नेपाल ल्याउने योजना बनाएर सिप्रदी ट्रेडिङले काम गरिरहेको भएपनि भारतमा उच्च माग र कम उत्पादनको कार नेक्सन इभी नेपाल आउन सकेको छैन ।
भारतमा उच्च मागका बाबजुद निसान म्याग्नाइट र किया सोनेट भने नेपालमा विक्री सुरु भएको छ ।
महिन्द्रा थार चैत अन्तिमसम्ममा नेपाल ल्याउन प्रयास भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ भने, हुन्डाईको नयाँ जेनेरेशन आई २० बैशाख अन्तिमसम्ममा नेपाल आउने छ । टाटा नेक्सन इभीको अझै कुनै टुङ्गो नलागेको बताइएको छ ।

