दैनिक १७ सय रुपैयाँ भाडा तिरे पाइन्छ उत्कृष्ट मोटरसाइकल, मोडल अनुसार भाडादर

काठमाडौं । उपत्यकामा विभिन्न कम्पनीले मोटरसाइकलहरु भाडामा लगाउने गरेका छन् । दैनिक १ हजार ७५० रुपैयाँदेखि ३ हजारसम्मको भाडादरमा मोटरसाइकल उपलब्ध गराउने भ्याली बाइक रेन्टल सर्भिसले जनाएको छ ।

ललितपुरको हात्तीबनमा खुलेको उक्त्त रेन्टल सर्भिसले यामाहा बजाज, टीभीएस, रोयल इन्फिल्ड लगायतका ब्राण्डका मोटरसाइकल भाडामा राखेको यसका संचालनक मोहन सिंहले जानकारी दिए ।

‘काठमाडौं बाहिरबाट उपत्यकामा आएर आफ्नो केहि समय वा केहि दिनको काम गर्नु पर्ने मानिसहरुलाई ध्यानमा राखेर हामीले यो सेवा दिदै आएका छौं’ संचालक सिंहले मेरोअटोसँग भने ।

कम्पनीले अहिले १५० सीसी क्षमताका मोटरसाइकल दैनिक १ हजार ७५०, २०० सीसी क्षमताका अपाचे आरटीआर २०० र बजाज पल्सर एनएस २०० जस्ता मोटरसाइकलको दैनिक २ हजार २५० रुपैयाँ र पल्सर २२० एफको दैनिक २ हजार रुपैयाँ भाडामा मोटरसाइकल दिदै आएको छ ।

कम्पनीले रोयल इन्फिल्डका मोटरसाइकल पनि भाडामा उपलब्ध गराउँदै आएको छ । रोयल इन्फिल्डका मोटरसाइकलको दैनिक भाडा भने ३ हजार रुपैयाँ रहेको छ । यसरी भाडामा लिएका मोटरसाइकलमा ग्राहक आफैँले पेट्रोल हाल्नु पर्ने हुन्छ ।

भाडामा मोटरसाइकल लिन चाहने ग्राहकले आफ्नो लाइसेन्स, नागरिकता, डिपोजीट रकम बापत १० हजार रुपैयाँ नगद र मोटरसाइकलको मूल्य बराबरको वाणिज्य बैंकको चेक बुझाउनु पर्ने छ । चेक जमानतको रुपमा मात्र रहने कम्पनीले जनाएको छ ।

यसरी भाडामा लिएको मोटरसाइकल सेवाग्राहीले नेपालको जुनसुकै कुनासम्म लान पाउने छन् । यदि यात्राको दौरान दुर्घटना भयो भने त्यसको जिम्मेवार चालक नै हुनु पर्ने छ । यात्राको क्रममा मोटरसाइकल सर्भिसिङ गर्नु पर्ने अवस्था आएमा कम्पनीले त्यसको खर्च व्योहोर्ने छ ।

सकभर रातीको समयमा मोटरसाइकलको धेरै यात्रा नगर्न कम्पनीले ग्राहकलाई भन्दै आएको छ, तरपनि धेरै दिनको लागि मोटरसाइकल लाने ग्राहकले त प्रयोग गर्छन् । मोटरसाइकल भाडामा लिन चाहने ग्राहकले विहान ८ बजे कम्पनीमा गएर लिन सक्ने छन् । एक दिनको लागि भाडामा लिने मानिसले बेलुका ५ बजे भित्रै बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।


Back_to_top