काठमाडौं । नयाँ इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ । इलेक्ट्रिक स्कुटर कम्पनी लेभ्निङको नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेइकलले लेभ्निङ ब्रान्डाका स्कुटर नेपाल भित्र्याएको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सो स्कुटरको नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । त्रिपुरेश्वरस्थित स्कुटरको सोरुममा एक कार्यक्रमका बीच स्कुटर सार्वजनिक गरिएको हो ।
लेभ्निङका स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेका छन् भने यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीका छन् । त्यसैले ग्राहकले यसको गुणस्तरको कुनै चिन्ता लिनु नपर्ने कम्पनीका संचालक नारायण गौतमको भनाइ छ ।
यी स्कुटरमा लिथियम आयोजन पोलिमर ई७ सिरिजको संसारको सबै भन्दा पछिल्लो प्रविधिको सामसुङ ब्याट्री जडान गरिएको छ, जसलाई घण्टामा फुल चार्ज गर्न सकिन्छ । यी स्कुटरमा ड्युअल ब्याट्री अप्सन रहेकोले १६० किलोमिटर सम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ ।
यसमा वातावरण अनुसार उज्यालो दिने एलईडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आईपी६५ वाटर प्रुफिङ, ब्लुटुथ, किलेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल्ड सिस्टम आदि छ । यसमा भएको फेलर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ ।
कम्पनीले एक्स १ स्कुटरको मूल्य २ लाख ६० हजार, एस५ स्कुटरको मूल्य २ लाख ९९ हजार ९९९, डी ०६ स्कुटरको मूल्य २ लाख ३५ हजार र एम २० को मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकेको छ । डबल ब्याट्री राख्न चाहनेले थप ६० हजार रुपैयाँ तिरेर लिन सकिन्छ ।
सुरुवाती चरणमा कम्पनीले काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा बिस्तार गरेको छ भने छिटै देशै भरी नेटवर्क बिस्तार गर्ने तयारी गरेको बताएको छ । कम्पनीले बिक्री पछिको सेवाका लागि स्मार्ट होम सेवा एप्लिकेसनबाट आफ्ना ग्राहकलाई १ घण्टा भित्र सेवा दिने तयारी गरेको छ । जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।


