‘एमजी वान’ ४ दिनपछि सार्वजनिक हुने

काठमाडौं । बेलायती ब्राण्ड मोरिश ग्यारेज (एमजी)ले आगामी जुलाई ३० मा नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ फ्यूचरिस्टीक एसयूभी एमजी वानको प्रिभ्यू सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो ।

कम्पनीका अनुसार नयाँ एसयूभी एमजीको नयाँ मोडुलर प्ल्याटफर्ममा आधारित ‘पावर कट’ टेक्नलोजी सहितको हुनेछ ।

एमजी वान कम्पनीको नयाँ एसयूभी हो । अग्रेसीभ लुक्स र स्पोर्टी डिजाइन फिलोसफीमा आधारित एसयूभीको नोज लोसेट, सार्प लुकिङ हेडल्याम्प, वाइड ग्रिल र एल सेपकट फ्रन्ट बम्पर देख्न सकिन्छ । साइडबाट हेर्दा यो एसयूभीमा दिइएको रुफरेल रियरमा डाउनवार्ड तर्फ गई कुपे डिजाइन झल्काउने किसिमको छ ।

यसलाई अझ स्पोर्टी बनाउनका लागि प्रमिनेन्ट हन्च, दुबै चक्काको वरिपरि आर्कमा क्लाइडिङ, ड्यूलटोन ह्वील दिएको छ । पछाडिपट्टी रुफ माउन्टेड स्पोइलर र एलइडी स्लीक टेलल्याम्प दिएको छ ।

एमजीले आफ्नो नयाँ सिग्मा मोडुलर आर्किटेक्चरको बारे केही जानकारी बाहिर ल्याएको छ । कम्पनीले यसलाई ‘अल–इन–वान आर्किटेक्चर’ भनेको छ । जसलाई मल्टीपल प्रोडक्टमा प्रयोग गर्न मिल्ने छ ।

एमजी वान एसयूभीमा एड्भान्स इलेक्ट्रीक आर्किटेक्चर, एक्टीभ डिजिटल इको सिस्टम तथा हार्डकोर सफ्टवेर टेक्नलोजीको प्रयोग गरेको जनाएको छ । जसको अर्थ यो एसयूभीमा लेटेस्ट इन्फोटेन्मेन्ट, कनेक्टेड कार टेक्नलोजीको साथै सेमी अटोनोमस प्रविधि समेत प्रयोग हुने अनुमान गरिएको छ ।

एमजीले यो एसयूभी कम्बस्चन वा इलेक्ट्रीक के हुने भन्ने विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, कम्बस्चन र इलेक्ट्रीक दुबै क्षेत्रमा आक्रमक रणनीति सहित काम गरिरहेको कम्पनीले दुबै अप्सनमा यसलाई ल्याउने अनुमान भने गर्न सकिन्छ ।


Back_to_top