काठमाडौं । नाडाले हिजो शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको स्वागत गर्दै यसको कार्यान्वयन पक्ष बहिलो हुनुपर्ने धारणा राखेको छ । आज एक विज्ञप्ती जारी गर्दै नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले भनेका छन्, ‘विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत राख्नु, चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध गराउने व्यवस्था हुनु र कोभिड १९ महामारीबाट अति प्रभाववित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नु पर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था हुनु सकारात्मक छ ।’
त्यसैगरी कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालन/मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा दिने, ऋणी स्वयं रोजगार हुने उद्धेश्यले खरिद गर्ने सवारी साधनमा २५ लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था गरेबाट विपन्न बर्गलाई सवारी साधन खरिदगरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातमा आवद्ध व्यवसायीलाई केही राहत पुग्ने विज्ञप्तीमा उल्लेख छ ।
उक्त मोद्रिक नीतिमा कोभिड १९ महामारीका कारण संकटग्रष्ट उद्योग लगायत यातायात क्षेत्रको पनरुत्थानको लागि व्यववसाय निरन्तरता कर्जा कार्यक्रम, बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार २ बर्षसम्म खुद नोक्सानीमा रहेमा सुक्ष्म निगरानी बर्गमा बर्गिकरण गर्नु पर्ने व्यवस्थालाई परिवर्तनगरी लगातार ३ बर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सुक्ष्म निगरानी बर्गमा बर्गिकरण गर्ने व्यवस्था हुनु स्वागत योग्य रहेको नाडाको भनाई छ ।
साथै, मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई/इक्यूआई वा अन्य सांवा व्याज भुक्तानी गर्न नसकेको ग्राहकहरुको वित्तीय स्थिति बंैक तथा वित्तीय संस्थाले मूल्याङ्कनगरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ । नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट आधार दरमा कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने भनिएको छ । यो व्यवस्थाले निजी क्षेत्रले समेत खोप उत्पादनगरी सामाजिक उत्तरदायीत्व निर्वाह गर्ने अवशर पाउने नाडाले जनाएको छ ।


