फुलचार्जमा ५२१ किमि रेञ्ज दिने इलेक्ट्रीक कार, मूल्य ५७ लाख ५० हजार

काठमाडौं । इलेक्ट्रीक भेहिकल भन्ने वित्तीकै सबैको मनमा आउने पहिलो प्रश्न यसले कति किलोमिटर रेञ्ज दिन्छ ? काठमाडौंबाट कहाँसम्मको यात्रा गर्न सकिन्छ ? लामो समयदेखि ग्यासोलीन कार चलाइरहेको चालकलाई यो प्रश्नले निकै नै पिरोली रहेको हुन्छ ।

विशेषत काठमाडौंमा बस्ने व्यक्तिहरु कम्तीमा वर्षको एक पटक आफ्नो परिवार साथीभाईसँग कुनै पर्यटकिय क्षेत्रमा घुम्ने योजनामा हुन्छन् ।

काठमाडौंबाट धेरै व्यक्तिहरुको परिवारसँग घुम्ने पहिलो गन्तब्य पोखरा हो । काठमाडौंबाट पोखरा एकतर्फी यात्रा करिब २०० किलोमिटर हुन्छ । अर्को चर्चित गन्तब्य चितवनको सौराहको दुरी १७० किलोमिटर रहेको छ ।

यसरी काठमाडौंबाट नजिकको पर्यटकीय डेस्टीनेसनसम्म जानकै लागि कम्तीमा २२० देखि २५० किलोमिटर रेञ्ज दिने कारको आवश्यकता पर्छ । अझ पूर्वको इलाम नै जाने हो भने ४८५ किलोमिटरको यात्रा तय गर्नु पर्छ । इलामसम्म पुग्नका लागि कम्तिमा ५०० किलोमिटर रेञ्ज दिने गाडी जरुरत पर्छ । यसरी नजिकको होस वा टाढाको पर्यटकीय क्षेत्र घुम्न निस्कीने हो भने ५०० किलोमिटर रेञ्ज भएको इभी आवश्यक हुन्छ ।

अहिले नेपाल उपलब्ध इलेक्ट्रीक कारहरु मध्ये विवाइडी कम्पनीको इ सिक्स कारले यो रेञ्ज उपलब्ध गराएको छ । विवाइडीको नयाँ जेनेरेसन इ सिक्समा ब्लेड व्याट्रीको प्रयोग गरिएकोले यसले दिने रेन्ज बढेको हो ।

विवाइडीको नयाँ इ सिक्समा ७२ किलोवाटको ब्लेड व्याट्री प्रयोग गरेको छ । उक्त व्याट्रीले फुलचार्जमा ५२२ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यो व्याट्रीलाई डिसी फास्ट चार्जरबाट चार्ज गर्ने हो भने जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसलाई ९० मिनेटमा भने फुल चार्ज नै गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ टेक्नलोजीबाट बनेको यो व्याट्रीलाई ३ हजार साइकलसम्म चार्ज डिस्चार्ज गर्न मिल्छ, फलस्वरुप यो कारले १२ लाख किलोमिटरसम्मको यात्रातय गर्न सक्छ ।

विवाइडीले सेकेन्ड जेनरेसन इ सिक्सको डिजाइनमा धेरै परिवर्तन समेत गरेको छ । यसमा नयाँ डिजाइनको इन्टेरियर, लेदर सिट, सिक्सवे एड्जस्टेवल ड्राइभर र फ्रन्ट पेसेन्जर सिट, नयाँ १०.१ इन्चको रोटेवल इन्फोटेन्मेन्ट सिस्टम तथा ५८० लिटरको बुट स्पेस पाउन सकिन्छ । यो कारमा १७ इन्चको अलोय ह्वील तथा १७५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

यस कारमा ७० किलोवाटको मोटर रहेको छ, जसले ९४ हर्सपावर तथा १८० एनएम टर्क जेनेरेट गर्छ । यो कारको टप स्पीड १३० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो कारमा इलेक्ट्रीकल पार्किङ ब्रेक, भेहिकल डाइनामिक्स कन्ट्रोल, ब्रेक ओभर राइड सिस्टम, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक ब्रेकफोर्स डिस्ट्रीव्यूसन, हिल असिस्ट कन्ट्रोल तथा हाइड्रोलीक ब्रेक असिस्ट सिस्टम जस्ता कन्ट्रोल फिचरहरु पाउन सकिन्छ ।

सुरक्षाका लागि यस कारमा अगाडि दुबैतर्फ एयरव्याग, अगाडि दुबै सिटमा सिटबेल्ट रिमाइन्डर, स्मार्ट कि सिस्टम, स्पीड सेन्सीङ अटोमेटिक लकिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, एन्टी थेप्ट पावर सिस्टमका साथै रियर पार्किङ सेन्सर र डिस्ट्यान्स स्केल लाइन सहितको रिभर्स क्यामरा रहेको छ ।

अझ विवाइडीले देशव्यापी रुपमा चार्जिङ स्टेशनको निर्माण गर्ने प्रक्रिया थालिसकेको जनाएको छ । यसरी मुख्य मुख्य सहरहरुमा चार्जिङ स्टेसनको उपलब्धता हुने हो भने विवाइडीको यो कार देशको पूर्व पश्चिम हाइवे लगायतको कुनै पनि स्थानमा आरामले चलाउन सकिनेछ ।

विवाइडी इ सिक्सको मूल्य ५७ लाख ५० हजार रहेको छ ।


Back_to_top