काठमाडौं । टाटा मोटर्सले आफ्नो सबैभन्दा कम मूल्यको एसयूभी आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसलाई आफ्नो चर्चित सब फोर मिटर एसयूभी नेक्सनभन्दा तल राखेर विक्री सुरु गर्नेछ ।
कम्पनीले यसलाई २०१९ मा भएको जेनेभा मोटर शोमा एचटुएक्स र २०२० मा भारतमा भएको अटोएक्स्पोमा एचबीएस नामबाट कन्सेप्ट सार्वजनिक गरेको थियो । कम्पनीले अहिलेसम्म यसको नाम घोषणा भने गरेको छैन । तर, हर्नविल नामबाट यसलाई बजारमा ल्याउने धेरैले अनुमान गरेका छन् ।
टाटा मोटर्सले यसको टिजर सार्वजनिक गरेर अर्को महिना यसलाई बजारमा ल्याउने संकेत दिएको छ । भारतमा दिपावलीको समयमा धेरै गाडी विक्री हुने गरेको छ । यही समय पारेर कम्पनीले यसलाई बजारमा ल्याउन लागेको हो ।

विभिन्न समयमा परिक्षणमा देखिएको यो माइक्रो एसयूभी कन्सेप्टमा देखाएको जस्तै देखिन्छ । यसको लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम र उचाई १६३५ एमएम हुन सक्ने आँकलन गरिएको छ । यसको कन्सेप्ट डिजाइन पनि यही साइजमा ल्याएको थियो । यसमा २४५० एमएमको ह्वीलवेस थियो । यही साइजमा आउने हो भने यो निकै उत्कृष्ट माइक्रो एसयूभी हुने पक्का छ ।
टाटाले यसलाई अल्फा प्ल्याटफर्ममा निर्माण गरेको छ । यसको इन्टेरियरमा निकै आकर्षक फिचर प्रदान गर्ने अनुमान गर्न सकिन्छ । ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, थ्रि स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पावर विन्डो जस्ता फिचर उपलब्ध रहने छ ।
टाटाले यसमा १.२ लिटर नेचुरल एस्पायड र टर्बो पेट्रोल इन्जिन दिने जनाइएको छ । यसमा म्यानुयल र एएमटी गियरबक्स उपलब्ध रहने छ ।


