काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न मोटरसाइकल विक्रेता कम्पनीहरुले नयाँ मोटरसाइकल बजारमा ल्याइरहेका छन् । अहिले यामाहा, होन्डा, टीभीएस, रोयल इन्फिल्ड जस्ता कम्पनीले नयाँ मोडल ल्याएका हुन् ।
यामाहाले एक्सटीजेड १५०, रोयल इन्फिल्ड मेटोर, टीभएस अपाचे १६० टु भी जस्ता मोडल बजारमा विक्री सुरु गरेका छन् । होन्डाले यो वर्ष सुरु भएदेखि नै लगातार नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । होन्डा सिबी हाइनेस ३५०, सिबी ३५० आरएस, हर्नेट २.० र ग्रजिया बीएस ६ भर्सन नेपालमा विक्री हुँदै आएका नयाँ मोडल हुन् ।
यी मोडलका अलावा दशैंलाई लक्षित गर्दै केही नयाँ मोडल बजारमा आउन सक्ने देखिएको छ ।
१. यामाहा एफजेड-एक्स १५०

भारतमा विक्री सुरु भइसकेको यामाहा एफजेड-एक्स १५० दशैंअघि नै नेपाली बजारमा आउन सक्ने मोडल हो । यामाहाको आधिकारीक वितरक एमएमडब्लू इन्टरप्राइजेजका अनुसार दशैंसम्ममा यो मोटरसाइकल नेपाली बजारमा सार्वजनिक हुनेछ ।
यामाहा एफजेडमा आधारित यो मोटरसाइकल क्रुजर डिजानमा निर्माण गरिएको छ । यो मोटरसाइकलमा स्मार्ट कनेन्ट फिचरसहितको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यो मोटरसाइकलमा १४९ सीसीको बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले १३ पीएस पावर तथा १२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । यसको मूल्य एफजेडएस भी ३ को भन्दा केही महंगो हुनेछ ।
२. आरटीआर २०० फोर भी

टीभीएस आरटीआर २०० फोर भीको फेसलिफ्ट मोडल नेपाली बजारमा आइसकेको भएपनि यसको आधिकारीक विक्री भने सुरु भएको छैन । आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नयाँ आरटीआर २०० फोर भी आफ्ना डिलरहरुकोमा पठाइसकेको छ ।
यसमा बीएस ६ इन्जिन मात्र नभएर अन्य केही परिर्वतन समेत गरिएको छ । भिन्न तीन राइडिङ मोड यसको अर्को आकर्षण हुनेछ । कम्पनीले केही दिन भित्रै यसको आधिकारि विक्री सुरु गर्ने तयारी गरेको छ । यसको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
३. क्रसफायर ट्रेकर
![]()
केही दिनअघि एक कार्यक्रमकाबीच सार्वजनिक भएको क्रसफायर ट्रेकर २५० छिट्टै नै विक्री सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख ४८ हजार मूल्य राखेर डबल स्पोर्टस् मोटरसाइकल सार्वजनिक गरेको हो । अबको केही दिनमा नै यसको आधिकारिक विक्री सुरु गर्ने जनाइएको छ ।
ट्रेकर २५० मा २४९ सीसी क्षमताको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यसले १८.५ बीएच पावर तथा २० एनएम टर्क जेनेरेट गर्छ ।
४. केटीएम ७९० ड्युक

केटीएम ७९० ड्युक छिट्टै नै नेपाली बजारमा विक्री सुरु हुने भएको छ । कम्पनीले ७९० ड्युकको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ ।
यो मोटरसाइकलमा ७९९ सीसी, लिक्वीड कुल्ड एलसी ८ सी प्यारलल ट्वीन मोटर रहेको छ । यो इन्जिनले १०५ पीएस पावर तथा ८६ एनएम टर्क जेनेरेट गर्छ ।

