काठमाडौं । होन्डाको सफल र चर्चित मोटरसाइकल यूनिकर्न १५० को मूल्य एकै पटक २० हजार रुपैयाँले बढेको छ । आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डा यूनिकर्नको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरेसँगै कम्पनीले मोटरसाइकलको मूल्य वढाएको हो । यसअघि ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएको १५० सीसीका मोटरसाइकलमा अहिले ५० प्रतिशत अन्तःशुल्क लगाइएको हो । यही कारण यसअघि २ लाख ६९ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको मोटरसाइकलको नयाँ मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ भएको छ ।
नेपाली बजारमा फेमेली मोटरसाइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल पर्छ ।

होन्डा यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।

