काठमाडौं । सिट्रोनले काठमाडौंको थापाथलीमा शोरुम निर्माण गरेर आफ्नो पहिलो एसयूभी ‘सि फाइभ एयरक्रस’को विक्री सुरु गरेको छ भने चाँडै सि थ्री नेपाल ल्याउने जनाएको छ । आधिकारीक विक्रेता साँग्रिला मोटर्सले सन् २०२२ को मध्यसम्ममा यसलाई नेपाली बजारमा उतार्ने तयारी गरेको बुझिन्छ ।
भारतमा बनेको सिट्रोनको पहिलो सब फोर मिटर एसयूभीकोरुपमा सी थ्री नेपाल आउने छ । विशेषत भारतमा सब फोर मिटर सेग्मेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै सिट्रोनले सी थ्री ल्याउन लागेको हो । यसले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
सी थ्री बजारमा आएसँगै यसले ग्राहकलाई नयाँपन दिने कम्पनीले जनाएको छ । भने, मूल्यका हिसावले पनि यो एसयूभी अन्य मोडलसँगै प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ । फ्रेन्च कार निर्माताले नयाँ एसयूभीसँगै दक्षिण एशियाली बजारमा सिट्रोनको प्रभाव विस्तार गर्ने अपेक्षा गरेको छ ।
पहिलो लक्ष्य कम मूल्य: अहिले भारतमा उत्पादन भएका सब फोर मिटर एसयूभीहरु नेपालमा २८ लाखदेखि ५८ लाखसम्म मूल्य निर्धारण भएर विक्री वितरण हुँदै आएका छन् । सिट्रोनले पनि कम मूल्यमा गाडी विक्री गर्नु पर्ने बाध्यतालाई ध्यानमा राख्दै प्लेटफर्म नै नयाँ निर्माण गरेको छ । यूरोपियन प्लेटफर्ममा बनाउँदा मूल्य महंगो पर्ने भएकाले भारतको लागि छुट्टै प्लेटफर्म निर्माण गरेको हो ।
सिट्रोनले ४० लाखदेखि ६० लाखको बीचमा रहनेगरी आफ्ना सबै भेरियन्टको मूल्य निर्धारण गर्ने अनुमान गरिएको छ ।
१.२ लिटर पेट्रोल इन्जिनः सिट्रोनले आफ्नो पहिलो भारतमा बन्ने कारमा १.२ लिटर टर्बो पेट्रोल इन्जिनको प्रयोग गर्नेछ । टाटा नेक्सन र एक्सयूभी ३०० ले पनि १.२ लिटर टर्बो पेट्रोल इन्जिनको प्रयोग गरेको छ । यस्तोमा सी थ्रीमा पनि यही क्षमताको इन्जिन उपलब्ध रहने छ । यसलाई कम्पनीले म्यानुयल र अटोमेटीक गियर अप्सनमा ल्याउने छ ।

आकर्षक एक्सटेरियर: सिट्रोन सुन्दर कार निर्माणमा कहलिएको ब्राण्ड हो । त्यसले उसले आफ्नो त्यो सुन्दरतालाई सी थ्रीमा पनि उत्तिकै प्रयोग गर्नेछ । कम्पनीले यसमा स्प्लीट हेडल्याम्प, सर्ट ओभरह्याङ, विभिन्न स्थानमा फरक कलर कन्ट्रासको प्रयोग, स्पोर्टी ड्यूल टोन कलरको प्रयोग, अलोय ह्वील, टर्न इन्डिकेटर सहितको लुकिङ ग्लास, अग्लो बोनेट, ३१५ लिटरको बुटस्पेश, एलइडी टेलल्याम्प र ग्रे कलरको रुफरेल जस्ता थुप्रै आकर्षक फिचर प्रदान गर्नेछ ।

फिचर लोडेड क्याविनः सिट्रोन सधै फिचर लोडेड गाडी निर्माणलाई प्राथमिकता दिने कम्पनी हो । कम्पनीले यसमा चालक र यात्रु दुबैलाई सहज हुने थुप्रै फिचर प्रदान गर्ने छ । १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो, अटोमेटीक क्लाइमेट कन्ट्रोल, एड्जस्टेवल हेड रेष्ट, आरमदायी सिट र प्रिमियम ड्यासबोर्ड प्रदान गर्नेछ ।


