२० वर्ष पुराना गाडीलाई इलेक्ट्रीक बनाउदै साझा, १० वर्ष भित्र सबै विद्युतीय सवारी बनाउने

काठमाडौं । नेपालमा २० वर्ष पुराना भाडाका सवारी साधन चलाउन निषेध गरिएको छ । प्रदुषणको कारण देखाउँदै संचालनमा रोक लगाइएका धेरै सवारी साधन राम्रै अवस्थामा भए पनि थन्काउनु परेको भन्दै साझाले इलेक्ट्रीकमा परिवर्तन गर्ने तयारी गरेको हो ।

आगामी १० वर्षमा संसारकै यातायात प्रणाली विद्युतीकरण हुने अनुमानका साथ साझाले डिजेल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न कसरी सकिन्छ ? भन्ने बारे अध्ययन सुरु गर्न लागेको जनाएको छ ।

विद्युतीय सवारीको खपत बढ्दै गएको र यसको भविष्यलाई मध्यनजर गर्दै साझा यातायातले २० वर्षे पुराना सवारीलाई विद्युतीय सवारीमा कन्भर्जन गर्ने लक्ष्य सहित पहिलो अध्ययन सुरु गर्न लागेको हो ।

साझा यातायाता संचालक समितिका सदस्य भुषण तुलाधारले २० वर्षे पुराना सवारीलाई विद्युतीय सवारीमा परिणत गर्न सके थन्किएका धेरै सवारी बाटोमा आउन सक्ने बताए ।

उनका अनुसार सुरुमा साझाका सवारीहरुलाई आउँदो ५ वर्षभित्र डिजेलबाट विद्युतीय सवारीमा कन्भर्जन गरिने छ । अध्ययन सफल भए साझाका पुराना सवारी साधनलाई विद्युतीय बनाइने छ । साझाका पुराना बस विद्युतीयमा परिवर्तन गर्ने काम सफल भए १० वर्षभित्र देशमा रहेका सबै २० वर्ष पुराना सवारीसाधन विद्युतीय बन्न सक्ने तुलाधरले बताए ।

‘हामी पहिला ५ वर्षभित्रमा आफैँ सेट हुन्छाैं, अनि १० वर्षभित्र देशका अन्य सवारीलाई सेट गर्ने छौँ, अहिले रिसर्चको विषय मात्र हो,’ तुलाधारले भने ।

अब आउँदो १० वर्षमा नेपालमा गुड्ने धेरै सवारीसाधन विद्युतीय हुने अनुमानका साथ यस्तो अध्ययन सुरु गरिनुपर्ने उनले बताए ।

यसका लागि हालसम्म कुनै निकायले ध्यान दिएको छैन । अब विद्युतीय गाडीमा कन्भर्जनतर्फ नलाग्ने भए आगामी समयमा धेरै डिजेलका गाडीहरु म्याद सकिएकै कारण कवाडीमा फ्ल्नुपर्ने बाध्यता आउने भएकाले केयूसँग मिलेर साझाले अध्ययन गर्न लागेकाे हाे ।

उनले यती ट्राभल्सको उदाहरण दिदै भने ‘यति ट्राभल्सको २२ वटा गाडी २० वर्ष पुरानो भयो भनेर गराजमा थन्कीएर त्यतीकै बसेका छन्, त्यसलाई कन्भर्जन प्रणालीमा लैजान सके धेरै राम्रो हुनसक्छ ।’

सवारी कन्भर्जनका लागि ब्याट्री र मोटर बाहिरबाट ल्याउनु पर्ने हुन्छ । त्यसका साथै सफ्टवेर अपडेट गर्नु पर्छ । जसका लागि लगानी आवश्यक पर्नेछ ।


Back_to_top