दशैं तिहारको अवसरमा विक्री सुरु हुँदै दुई नयाँ मोटरसाइकल, कति पर्ला मूल्य

काठमाडौं । चाडपर्वको अवसर पारेर टीभीएस र यामाहाले नयाँ मोटरसाइकल विक्री सुरु गर्ने योजना बनाएका छन् । दुबै कम्पनीले केही दिन भित्रै नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारीक विक्रेता जगदम्वा मोटर्सले राइडर १२५ नेपालमा सार्वजनिक गर्ने अन्तिम तयारी गरि रहेको छ । त्यस्तै यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस भी ३ एक्स कनेक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको हो ।

टीभीएस राइडर १२५ टीभीएसको नयाँ मोटरसाइकल हो भने यामाहा एफजेडएस भी ३ एक्स कनेक्ट अपडेटेड भर्सन हो ।

टीभीएस राइडर १२५

कम्पनीले यसमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलले ०–६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने कम्पनीले जनाएको छ ।

अपाचे आरटीआर १६० फोर भीबाट प्रेरित एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर यसमा पाउन सकिन्छ ।

स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, अपराइट ह्याण्डलबार, अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

यसको मूल्यको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन । भारतीय मूल्यलाई आधार मानेर हेर्दा यसको मूल्य २ लाख ५० हजारभन्दा केही कम हुने देखिन्छ ।

यामाहा एफजेडएस भी ३ एक्स कनेक्ट

यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ ।

कनेक्ट एक्स एपमार्फत मोटरसाइकल र मोवाइल कनेक्ट गर्न सकिने रहेको छ । यो एप एन्ड्रोएड तथा एप्पल स्टोर दुबैमा उपलब्ध रहेको छ ।
यो एप मार्फत ग्राहकले पार्किङमा आफ्नो मोटरसाइकल कहाँ छ भनेर सजिलै पत्ता लगाउन सक्नेछन् । यस्तै स्मार्ट लक मार्फत मोटरसाइकल चोरी हुनबाट बचाउने छ ।

यसमा ट्राभल हिस्ट्री एपमार्फत यात्रा गरेको स्थान र दुरी रेकर्ड हुनेछ । त्यस्तै जीपीएस मार्फत अन्तिम पटक मोटरसाइकल पार्किङ गरिएको स्थानसमेत हेर्न सकिने छ ।

हाल विक्री भइरहेको एफजेडएस भी ३ को मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ भने कनेक्ट फिचर सहित नेपालमा सार्वजनिक हुने मोटरसाइकलको मूल्य १० हजारदेखि १५ हजार रुपैयाँसम्मले बढी हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top