‘स्टाइल, पर्फमेन्स’ र कम मूल्यका ४ मोटरसाइकल

काठमाडौं । महंगो मूल्य नेपालमा सवारी साधन किन्न चाहने ग्राहकको टाउको दुखाई हो । महंगो मूल्यकै कारण आवश्यकताका बाबजुद धेरै मानिसले सानो मोटरसाइकल पनि किन्न सकिरहेका छैनन् ।

नेपालमा अहिले धेरै कम्पनीले १२५ सीसी सेग्मेन्टमा मोटरसाइकल विक्री गर्दै आएका छन् । त्यसमध्ये पनि केही मोडल हेर्दा निकै राम्रा लाग्छन् भने यी मोटरसाइकलको ‘पर्फमेन्स’ पनि निकै राम्रो रहेको छ ।

बजाज, यामाहा, होन्डा, हिरो, टीभीएस र सुजुकीले १२५ सीसी सेग्मेन्टमा मोटरसाइकल विक्री गर्दै आएका छन् । यी मध्ये हिरो स्प्लेन्डर प्लस, होन्डा साइन, बजाज पल्सर १२५ र टीभीएस राइडर नेपालमा विक्री हुने उत्कृष्ट १२५ सीसी क्षमताका मोटरसाइकल हुन् ।

१. होन्डा साइनः सन् २००७ देखि स्याकार ट्रेडिङले नेपालमा विक्री हुँदै आएको होन्डा सिबी साइन निकै चर्चित मोटरसाइकल हो । नेपालमा विक्री सुरु भएदेखि नै सेग्मेन्ट लिडर बन्न सफल साइन कुनै समय ३÷४ महिनासम्म ‘वेटिङ पिरियड’ रहेको मोटरसाइकल हो ।

आकर्षक स्लीक डिजाइनमा तयार भएको होन्डा सिबी साइन उत्कृष्ट माइलेजको लागि पनि परिचित मोडल हो । १२२४.७ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको यस मोटरसाइकलले अधिकतम ७५०० आरपीएममा १०.३० बीएच पावर र ५५०० आरपीएममा १०.९ एनएम टर्क प्रदान गर्छ । यसमा ४ स्पीड गियरबक्स रहेको छ ।

यसको एफआई इन्जिन युक्त मोडलमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ । उक्त मोडल नेपाल आएको छैन । काब्रुरेटर इन्जिन भएको सिबी साइन नेपालमा दुई भेरियन्टमा विक्री हुन्छ । सिबी साइन डिआरएसको मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ र डिएसएसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।

२. हिरो सुपर स्प्लेन्डरः हिरो स्प्लेन्डर नेपालमा मोटरसाइकलको अर्को नाम जस्तै रहेको मोडल हो । भारतमा हिरो र होन्डाको संयुक्त मोडलको रुपमा प्रख्यात स्प्लेन्डर १०० देखि १२५ सीसीसम्म इन्जिन क्षमतामा उपलब्ध रहेको छ ।

उत्कृष्ट ‘रिसेल भ्यालू’, टिकाउपन र कम मूल्यको कारण स्प्लेन्डर अहिले पनि निकै चल्तीको मोडल हो । हिरोको आधिकारीक वितरक एनजीएम हिरोले २ लाख ७ हजार ५०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको यो मोटरसाइकलमा पनि १२४.७ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ९ बीएच पावर र १०.३ एनएम टर्क प्रदान गर्छ ।

३. बजाज पल्सरः बजाज पल्सर मोटरसाइकल चाहनेहरुलाई नाम नै काफी मोडल हो । हुबहु १५० सीसी पल्सरको डिजाइनमा बजारमा आएको पल्सर १२५ दुई वर्षदेखि नेपालमा विक्री हुँदै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्दै आएको पल्सर १२५ डिजाइनको कारण नै चर्चित मोडल हो ।

उत्कृष्ट माइलेज, स्पोर्टी डिजाइन र लुक्सको कारण नेपालमा पनि क्रमिक रुपमा पल्सर १२५ सफल हुँदै गएको मोडल हो । कम्पनीले यसको मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

पल्सर सेग्मेन्टकै सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा रहेको १२४.४ सीसी क्षमताको इन्जिनले अधिकतम ११.८ पीएस पावर र १०.८ एनएम टर्क प्रदान गर्छ ।

४. टीभीएस राइडरः जगदम्बा मोटर्ससँग १२५ सीसी सेग्मेन्टमा स्टाइकर, म्याक्स जस्ता मोडल रहेपनि कम्पनीले नेपालमा विक्री सुरु गर्न लागेको राइडर १२५ निकै प्रतिक्षित मोडल रहेको छ । टीभीएसले १२५ सीसी सेग्मेन्टमा लाइफस्टाइल प्रोडक्टको रुपमा बजारमा ल्याएको राइडर आधुनिक फिचरले भरिएको मोटरसाइकल हो ।

अबको केही दिन भित्रै विक्री सुरु हुन लागेको राइडरको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यो मूल्य केही दिनको लागि मात्रै लागुहुने कम्पनीले जानकारी दिएको छ ।

उत्कृष्ट डिजाइन, आधुनिक फिचर र पावरफुल इन्जिन यसको मुख्य विशेषता हो । यसमा रहेको १२४.८ सीसी क्षमताको इन्जिनले ११.३८ पीएस पावर र ११.२ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top