‘हुन्डाई क्रेटा फेसलिफ्ट-२०२२’ को भित्री डिजाइन स्केच सार्वजनिक

काठमाडौं । हुन्डाई मोटर्सले इन्डोनेशियामा पहिलो पटक प्लान्ट स्थापना गरेको छ । नयाँ प्लान्टबाट पहिलो मोडलको रुपमा क्रेटा उत्पादन गर्ने भएको हो । क्रेटा उत्पादन सुरु गर्न लागेसँगै कम्पनीले क्रेटा-२०२२ मोडलको बाहिरी बनोटपछि भित्री बनोटको स्केच सार्वजनिक गरेको छ ।

नेपालमा विक्री हुँदै आएको नयाँ जेनेरेशन क्रेटा सर्वाधिक सफल मोडलको रुपमा स्थापित भएको छ । त्यसले पनि क्रेटासँग जोडिएर आउने हरेक समाचार ग्राहकको लागि चासोको विषय बनिरहेको छ । इन्डोनेशियाबाट बाहिर आएको फेसलिफ्ट क्रेटाको नेपालमा विक्री भने सन् २०२२ को मध्यबाट मात्रै हुने अनुमान गर्न सकिन्छ ।

सार्वजनिक भएको स्केचहरुलाई आधारमान्दा क्रेटा फेसलिफ्ट निकै मस्कुलर बडी डिजाइन र यूनिक ग्राफिक्सहरुको साथ आउने पक्का जस्तै छ । निकै प्रिमियम र समकालीन चल्तीको डिजाइनका कारण क्रेटा धेरैले रुचाएको मोडलमा पर्छ ।

तेर्सो लामो ढोकासम्म फैलिएको ड्यासबोर्डले गाडीको अगाडिको भागलाई निकै आक्रमक, उत्कृष्ट र फरकपन दिएको छ । नयाँ ड्यासबोर्डले यात्रुको सुरक्षामा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।

कन्सोलसँग जोडिएको ८ इन्चको एभीटी स्कृन, डि-कट स्टेरिङ ह्वील फेसलिफ्ट क्रेटामा दिइएको छ । यसले गाडीलाई निकै स्पोर्टी फिल प्रदान गरेको देखिन्छ । सेन्टर कन्सोलमा दिइएको सिल्भर फिनिसिङ र बीचमा रहेको गियरनब पनि निकै आकर्षक देख्न सकिन्छ ।

गाडीको ड्यासबोर्ड मात्रै देखिएकाले यसमा अन्य के कस्ता फिचर छन् भन्ने अनुमान गर्न भने कठिन छ ।


Back_to_top