नेपाल आउँदै २५ लाखदेखि एक करोड मूल्यसम्मका ६ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले ६ नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । हुन्डाई, टाटा, बीवाइडी, एमजी, किया र महिन्द्राले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् ।

दशैंअघि एमजी र हुन्डाईले मात्रै इलेक्ट्रीक कार खोज्ने ग्राहकलाई गाडी दिन सकेका थिए । टाटा र बीवाइडी पनि केही यूनिट गाडी ग्राहकलाई हस्तान्त्रण गरेको जनाएका छन् ।

विश्वभर देखिएको सेमी कन्डक्टरको समस्या समाधान उन्मुख भएसँगै कम्पनीहरुले विद्युतीय गाडीको उत्पादन बढाउने संकेत गरेकाले आयातकर्ताहरुले पनि नयाँ विद्युतीय कार नेपाल ल्याउने तयारी गरिरहेका छन् ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अहिले नेपालमा कोना क्रसओभर एसयूभी र आयोनिक सेडान विक्री गर्दै आएको छ । आगामी महिना कम्पनीले आयोनिक ५ नेपाल ल्याउने जानकारी यसअघि नै दिएको थियो ।
कम्पनीले ल्याउने आयोनिक अहिले विश्वबजारमा निकै चर्चा कमाएको मोडल हो । क्लासिक डिजाइनमा तयार भएको आयोनिकको सुरुवाती मूल्य ८० लाख हाराहारी पर्ने अनुमान गरिएको छ । यसमा सोलारको समेत प्रयोग भएको छ । यसले ४०० किलोमिटर हाराहारी रेञ्ज प्रदान गर्नेछ ।

विवाइडीको आधिकारीक वितरक साइमेक्स इङ्कले पनि नयाँ इलेक्ट्रीक प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएको छ । बीवाइडीको व्लेड व्याट्री प्रयोग भएको डल्फिन एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । यो गाडी सन् २०२२ को अप्रिलसम्ममा नेपाल आइसक्ने जनाइएको छ । यसको मूल्य ४० लाख हाराहारी पर्नेछ ।

केयूभी १०० झट्ट हेर्दा एसयूभी देखिन्छ । यसलाई माइक्रो एसयूभी सेग्मेन्टमा राखेर कम्पनीले विक्री गर्नेछ । करिब १५० किलोमिटर हाराहारी मात्रै रेञ्ज दिने भएकाले यसको मूल्य नयाँ नेपाल आउने कार मध्ये सबैभन्दा कम हुने अनुमान गर्न सकिन्छ । महिन्द्राको आधिकारीक वितरक अग्नी इनर्जीले यसलाई सन् २०२२ को मार्चसम्ममा नेपाल ल्याउने छ । यसको सुरुवाती मूल्य २५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी ५ नेपाल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसलाई ४५ लाख हाराहारी मूल्य राखेर नेपाल ल्याउने अनुमान गरिएको छ । फुलचार्जमा ४०० किलोमिटर हाराहारी रेञ्ज प्रदान गर्ने यो गाडी क्रसओभर डिजाइनमा उत्पादन भइरहेको छ ।

टाटाले एक महिना अघि भारतमा सार्वजनिक गरेको टिगोर इभी निकै आकर्षक देखिएको छ । नेक्सन इभीको सप्लाईमा समस्या भएसँगै टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ टिगोर ल्याउने प्रयास गरेको छैन । नेक्सन बुकिङ गरेर बसेका ग्राहकलाई डिलिभरी दिएपछि मात्रै टिगोर नेपाल ल्याउने योजना कम्पनीले बनाएको छ । यसको मूल्य २९ लाख हाराहारीबाट नेपालमा सुरु हुन सक्छ । यसको एआरएआईले प्रमाणित गरेको रेञ्ज ३०६ किलोमिटर हो ।

कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले अहिले निरो इभी विक्री गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा इभी ६ नेपाल ल्याउने योजना बनाएको छ । यसका अधिकांश फिचर हुन्डाई आयोनिक ५ सँग मिल्दोजुल्दो रहेको छ । यसको ठूलो व्याट्री प्याक भर्सन नेपाल आए १ करोडभन्दा माथि मूल्य पर्नेछ ।


Back_to_top