काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोग बढाउन चौतर्फी प्रयास भइरहेका छन् । स्कुटर सेग्मेन्टमा एक दर्जनभन्दा बढी ब्राण्डले आफ्ना उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको भएपनि मोटरसाइकल सेग्मेन्टमा सुपर शोको मात्रै रहेको छ ।
नेपाली युवाहरुले निर्माण गरेको यात्री ब्राण्डले चाँडै आफ्ना दुई मोडलका मोटरसाइकल नै विक्री सुरु गर्ने तयारी गरिरहेका छन् । यस्तोमा बजारमा इलेक्ट्रीक मोटरसाइकलको माग पनि बढ्दै जाने विश्वास गर्न सकिन्छ ।
सुपर शोकोले टीएसएक्स र टीसी सिरिजमा आफ्ना ५ मोटरसाइकल विक्री गर्दै आएको छ । डिलाइफ स्टाइल आधिकारीक विक्रेता रहेको सुपर शोको टीएसएक्स सिंगल व्याट्री र डबल व्याट्री अप्सनमा उपलब्ध रहेको छ भने, टीसी मोडल पनि सिंगल र डबल व्याट्री अप्सनमा आफ्नो आवस्यकता अनुसार ग्राहकले छनोट गर्न सक्नेछन् ।

कम्पनीले यसका अलावा टीसी म्याक्स मोडल पनि नेपालमा विक्री गर्दै आएको छ । टीसी म्याक्स सबैभन्दा पावर फुल मोटर जडान भएको मोटरसाइकल हो । यसमा ३.९ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । कम्पनीले यसको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेको छ । यसको मूल्य लगभग यात्री ‘पी-१’को जस्तै रहेको छ । पी वानको मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मोडलको मोटरसाइकल टीएसएक्स सिंगल व्याट्री हो । यसको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।

डिलाइफ स्टाइलले विक्री गर्ने सबैभन्दा कम मूल्यको स्कुटर सियूएक्स हो । यसको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । यसमा २ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । साथै, कम्पनीले सीपीएक्स सिंगल व्याट्री, सीपीएक्स डबल व्याट्री, भिएस वान सिंगल व्याट्री, भिएसवान डबल व्याट्री र सीयू मिनी मोडलका स्कुटर विक्री गर्दै आएको छ ।

