काठमाडौं । हाम्रो जस्तो कम आयस्रोत भएको देशमा ‘भ्यालु फर मनी’ प्रोडक्ट अत्यन्त आवश्यक मानिन्छ । कम खर्चमा धेरै लामो यात्रा तय गर्न सकिने मोटरसाइकल खोज्नेहरुको लागि यस्ता मोटरसाइकल निकै उपयोगी मानिन्छ ।
विशेष गरेर होन्डा, बजाज, हिरो, टीभीएस र यामाहाले विक्री गर्दै आएका १२५ देखि १५० सीसीसम्मका मोटरसाइकल यो वर्गमा पर्ने गरेका छन् । लगानी अनुसार उच्च प्रतिफल पाउनु नै मूल्य अनुसारको प्रोडक्ट मापन गर्ने सजिलो तरिका हुन्छ ।
यो सेग्मेन्टमा पर्ने मोटरसाइकल हेर्दा आकर्षक, उच्च माइलेज, कम सर्भिस खर्च, सहज पार्टस् उपलब्धताको कारण सधै चर्चामा रहने गर्छन् । नेपालमा यो सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोटरसाइकल बजाज पल्सर १५० क्लासिक हो । त्यसैगरी होन्डा साइन र हिरो स्प्लेन्डर प्लस पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएका छन् ।
मूल्यका हिसावले यी मोटरसाइकल २ लाख ८० हजारभन्दा कम मूल्यमा नै किन्न पाइन्छ भने माइलेज ५५ देखि ६० किलोमिटरसम्म दिन्छन् ।
पल्सर १५०
सन् २००१ देखि नेपाली बजारमा उपलब्ध पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल मोडल हो । कम्पनीले हरेक वर्ष यसको डिजाइनमा केही न केही परिमार्जन गर्दै आएको छ ।
विशेषत युवा लक्षित डिजाइन, मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसको विक्री धेरै हुने गरेको छ । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कले यसलाई लोभलाग्दो बनाएको छ ।

सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोल, क्लीप अन ह्यान्डलबार, इन्जिन किल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचाएको पाइन्छ । पल्सरको सफलतासँग जोडिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
पल्सर १५० माइलेजको कारण पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसमा रहेको डिटिएसआई टेक्नोलोजीले यसको माइलेजलाई निकै मजबुद बनाएको छ । पल्सर १५० ले ६५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यसको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको छ ।
होन्डा सिबी साइन
होन्डा सिबी साइन नेपालमा निकै सफल मोडलमा पर्छ । नेपाल आएदेखि नै १२५ सीसी क्षमताको मोटरसाइकल चाहने ग्राहकको पहिलो रोजाइमा पर्दै आएको साइन भारतमा १ करोड यूनिट हाराहारी विक्री भइसकेको छ । नेपालमा पनि वार्षिक औषत १५ हजार यूनिट विक्री हुँदै आएको छ ।

सिबी साइन एसपीमा १२४.७ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ७५०० आरपीएममा अधिकतम १०.५६ बीएच पावर प्रदान गर्ने छ भने, ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।
मोटरसाइकललाई आरामदायी बनाउन अगाडि टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । होन्डा सिबी साइन २ लाख २४ हजार ९०० देखि २ लाख ५४ हजार ९०० सम्मको विभिन्न भेरियन्टमा किन्न पाइन्छ ।
हिरो सुपर स्प्लेन्डर
१२५ सीसी क्षमताको मोटरसाइकल खोज्ने ग्राहकलाई सुपर स्प्लेन्डर उत्कृष्ट आफर हो । स्प्लेन्डरको मोडल नेम नै यसको टीकाउ पन र उच्च माइलेजको लागि काफी रहन्छ ।

यसमा रहेको एयर कुल्ड, फोर-स्ट्रोक सिगंल सिलिन्डर १२४.७ सीसीको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ७००० आरपीएममा ९ बीएच पावर र ४००० आरपीएममा १०.३५ एनएमको टर्क उत्पादन गर्छ ।
यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च एलोय ह्वील्स, आरामदायक सीट, १३ लिटर क्षताको इन्धन ट्यांकी रहेको छ । यसको मूल्य २ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।


